काठमाण्डौ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गाउँ–गाउँबाट बिमा कम्पनीहरुमा प्रिमियम बापत संकलन भएको रकम लगानी गर्ने विकल्प नहुँदा समस्या भएको बताएका छन् । 

उनले हालसम्म मात्रै जीवन र निर्जीवन बिमा कम्पनीमार्फत प्रिमियमको रुपमा १८० अर्ब रकम संकलन भए पनि त्यो लगानी गर्ने ठाउँ नभएको भन्दै बिमा कम्पनीहरुले समस्या भोगिरहेका दाबी गरे । 

धितोपत्र बोर्डको २६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईले भने–‘गाउँ गाउँबाट हालसम्म लाइफ तथा नन्लाइफ इन्स्योरेन्सको प्रिमियम संकलन गरेको रकम १८० अर्ब(लाइफको १६० अर्ब र नन्लाइफको २० अर्ब) पुगिसकेको छ । यो रकम बैंकहरुको मुद्धती निक्षेपमा राख्नु बाहेक लगानीको अर्को विकल्प पाइएन । यसमा सबै सरोकारवाला गम्भीर भइदिनुपर्छ ।’ 

उनले बिमासँग सम्बन्धित नीतिगत र प्रक्रियागत सुधारका कारण पछिल्लो समय समग्र बिमा व्यवसायको वृद्धिदर ३० प्रतिशत भन्दा बढी रहेको उल्लेख गर्दै, तर, ९० प्रतिशतभन्दा बढी लगानी चाहि बैंकहरुको मुद्धतीमा हुने गरेको गुनासो गरे । 

उनले बिमा कम्पनीहरुको सहजताका लागि समेत सरकारले चाँडो भन्दा चाँडो ऋणपत्र बजारलाई व्यवस्थित बनाई विस्तार गर्नुपर्नेमा जोड दिए । 

उनले बिमा कम्पनीहरुको हितका लागि समेत देशमा मध्यकालीन र अल्पकालीन मुद्रा बजारको  विकास हुन आवश्यक रहेको उल्लेख गर्दै भने–‘बिमा क्षेत्रबाट आएको पैसा मध्यकालीन उपकरणमा लगानी गर्न पाएका छैनौ । राष्ट्रबैंक, बोर्ड, नेपाल सरकार र बिमा समिति बसेर ऋणपत्र बजारको बिस्तार र विकासका लागि ठोस काम थालिहाल्नुपर्ने आवश्यकता छ ।’ 

अर्को एक फरक प्रसंगमा उनले धितोपत्र बोर्डलाई सकेसम्म चाँडो आफ्नै आधुनिक भवन बनाउन समेत सुझाव दिए । बिमा समितिले समेत आगामी वर्षदेखि कुपण्डोलस्थित कार्यालय क्षेत्रमै आधुनिक भवन बनाउन लागेको खुलासा गर्दै उनले थपे–‘बिमा समिति धितोपत्र बोर्डजस्तो गरीब चाहि छैन, हामीसँग पर्याप्त रकम छ । तपाईहरुसँग पैसा छैन भने सरकारसँग मागेरै भए पनि प्राइम लोकेसनमा आधुनिक र आकर्षक आफ्नौ भवन बनाउनुहोला ।’