काठमाण्डौ । माइक्रोसफ्टका संस्थापक बिल गेट्स फेरि पनि विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकन फोब्र्स म्यागजिनले विश्वका अर्बपतिहरुको मंगलबार नयाँ सूचि सार्वजनिक गरेको हो, जसमा यो पटक पनि बिल गेट्स नै सबैभन्दा अगाडि छन् । नयाँ सूचिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने गत वर्षको भन्दा २ सय २० स्थान पछाडि परेका छन् । यो सूचिमा नेपालका उद्योगपति बिनोद चौधरी मात्र समेटिएका छन् भने भारतका १ सय १ अर्बपति समेत सूचिमा पर्न सफल भएका छन् । यो सूचिको ३३ औं नम्बरमा भारतका अर्बपति मुकेश अम्बानीको नाम छ । गत वर्षको उनी ३६ औं नम्बरमा थिए । उनले ३ नम्बरको अग्रता हासिल गरेका देखिएको छ । 

फोब्र्सका अनुसार बिल गेट्सको कुल सम्पत्ति ८६ अर्ब डलर रहेको छ । उनी यो सूचिको पहिलो नम्बरमा लगातार चौथो पटक परेका हुुन् । गेट्सपछि दोश्रो नम्बरमा विश्वका सेयर बादशाह वारेन बफेटको नाम छ । उनको कुल सम्पत्ति ७५.६ अर्ब डलर रहेको छ । टप टेनको सूचिमा अमेरिकी अर्बपतिहरुको दबदबा छ । फोब्र्सको यो सूचिमा तेश्रो नम्बरमा अमेजनका फाउण्डर जेफ बेजोस रहेका छन् भने फेसबुुकको संस्थापक मार्क जुकरबर्ग यो सूचिको पाँचौ नम्बरमा छन् । ओर्याकलका संस्थापक ल्यारी एलिसन ७ औं नम्बरमा छन् । 

भारतका १ सय १ अर्बपति 
सूचिमा १ सय १ भारतीय अर्बपति पनि समेटिएका छन् । यसमा १३ जना नयाँ अर्बपति छन् । भारतको तर्फबाट २३.२ अर्ब डलर सम्पत्ति सहित मुकेश अम्बानी सबैभन्दा अगाडि छन् । उनी पछि लक्ष्मी मित्तल रहेका छन्, उनको कुल सम्पत्ति १६.४ अर्ब डलर रहेको छ । अजीम प्रेमजी, दिलिप सांघवी र शिव नाडर क्रमशः तेश्रो, चौथो र पाँचौ भारतीय अर्बपति बन्न सफल भएका छन्।

यो वर्ष १३ प्रतिशत अर्बपति बढे
फोब्र्सका अनुसार गत वर्षको तुलनामा यो वर्ष विश्वमा अर्बपतिहरुको संख्या १३ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष यो अर्बपतिहरुको संख्या २ हजार ४३ भएको छ । गत वर्ष यो संख्या १८ सय १६ मा सीमित थियो । यो म्यागजिनले जहिलेदेखि यो सूचि सार्वजनिक गर्न थाल्यो, सो समयदेखि हालसम्मकै सबैभन्दा ठूलो बढोत्तरी यही वर्ष भएको बताइएको छ । सबैभन्दा धेरै अर्बपति अमेरिकामा रहेका छन् । सूचिमा त्यहाँका ५ सय ६५ अर्बपति समेटिएका छन् । यस्तै, ३ सय १९ अर्बपतिसहित चीन दोश्रो नम्बरमा छन भने १ सय १४ अर्बपतिसहित जर्मनी धेरै अर्बपति भएका तेश्रो मुुलुक बनेको छ ।