काठमाण्डौ । डर त्यस्तो चिज हो, जसले कयौं पटक हामीलाई अगाडि बढ्नबाट रोकिदिन्छ । तपाईं एक सक्षम र सवल व्यवसायी बन्न सक्नुहुन्थ्यो, तर त्यही डरले तपाईंलाई रोकिदिएको हुन्छ । हामी तपाईंलाई मनमा हुने यस्तै १० डरको बिषयमा बताउन गइरहेका छौ, यस्तै डरहरुका कारण मानिस व्यापार र व्यवसाय गर्न पाउदैनन् वा सक्दैनन् । यी सारा १० डर तपाईंलाई सफल व्यवसायी बन्नबाट रोकिदिन्छ । यदि यसो नहुँदो हो त विश्वका सबै व्यक्ति बिल गेट्स, वारेन बाफे, स्टीव जब्स जत्तिकै सफल बन्न सक्थे होलान् । 

डर नम्बर १
कहाँबाट व्यापार सुरु गर्ने होला ?
व्यापार सुरु गर्नुभन्दा अगाडि नै मनमा पस्ने डर हो यो । कहाँबाट व्यापार सुरु गर्ने होला भन्ने डर हुन्छ मानिसको मनमा र यसैले तपाईलाई अगाडि बढ्न रोकिदिन्छ । यस्तै द्विविधाका कारण अधिकांश मानिस आफ्नो बिजिनेश आइडियालाई मूर्त रुप नै दिन पाइरहेका हुँदैनन् । 
समाधान : यस्तो डरबाट छुट्कारा पाउन तपाईले त्यस्ता सफल मानिसहरुको जीवन नियाल्नुपर्छ, जसले सुरुवातमा तपाईंको जस्तै लक्ष्य लिएका थिए र अनेकन चुनौतिको सामना गर्दै आज सफल भएका छन् । यस्ता व्यक्ति देश विदेशका सफल व्यवसायी हुनसक्छन, उनीहरुको बिषयमा पढ्न, बुझ्न र जान्न जरुरी हुन्छ । कम्तीमा उनीहरुको बिजिनेश संरचनाको बिषयमा पनि तपाईंले ध्यान दिएर विश्लेषण गर्न जरुरी हुन्छ । 

 

डर नम्बर २
यो व्यवसायको म जानकार छैन

कारोबार सुरु गर्नुभन्दा अगाडि नै धेरै मानिस डराउने चिज हो यो । अर्थात, अधिकांश मानिसहरु जेको कारोबार सुरु गर्न लागेका छन्, आफू त्यसको जानकार होइन भनेर मन सानो बनाउँछन् र अगाडि बढ्नबाट डराउँछन । आफू जेको व्यापार गर्ने योजनामा हुन्छन, त्यसको आफू जानकार नभएको भन्दै डराउँछन । 
समाधान : अत्यन्त सफल मानिसहरुमध्ये अधिकांश आफू सफल भएको पेशाका एक्सपर्ट हुँदैनन्, सत्य यही हो । यो सत्यलाई आत्मसाथ गर्न आवश्यक छ । आफ्नो प्रोडक्ट र सर्भिसको बिषयमा काम गर्दै जाँदा जानिन्छ, जानकार नभएकै कारण अगाडि बढ्न नखोज्नु चाहि व्यापारमा मूर्खता हो । यस्तो डर मनमा पसेको बेला तपाईंले आत्मविश्वासलाई मर्न दिनु हुन्न र बिस्तारै आफूले सुरु गरेको व्यवसाय, यसको प्रोडक्ट र सेवाको बिषयमा आफूलाई अप टू डेट राख्दै जानु भए तपाईलाई सफल हुनबाट केहीले पनि रोक्न सक्दैन । 

डर नम्बर ३
सन्की पो भन्ने हुन कि ?
कयौं मानिसलाई मनमा यो पनि डर हुन्छ कि, आफूले नयाँ खालको व्यवसाय सुरु गर्दा अरुले उनलाई पागल, सन्की पो भन्छन् कि । 
समाधान : यो प्रमाणित भएकै कुरा हो कि, यदि कसैले नयाँ कुरा गर्न खोज्यो भने सुरुमा दुनियाँले उसलाई पागल वा सन्की नै भन्छ । सफल भएपछि नै मानिसले तपाईंलाई सन्की देख्ने आँखाले प्रशंसाको भाषा बोल्न थाल्छ । यसकारण यो विषयमा बिल्कुल डराउनुहुन्न । 

डर नम्बर ४
लगानी नजुट्ने पीर
कारोबार सुरु गरेपछि सबैभन्दा ठूलो डर लगानीको हुन्छ । कयौं पटक मानिस यही डरका कारण अगाडि बढिसकेको आफ्नो पाइलालाई रोक्छन् र उल्टो पछाडि हिँड्न थाल्छन । 
समाधान : थप लगानी हातमा नभए पनि तपाई आँटका साथ आफ्नो व्यवसाय सुरु गर्नुस् । यदि तपाईंले सफल व्यवसाय गर्न थाल्नुभयो र केही नयाँपन दिनुभयो भने लगानीको बिषय त्यसै समाधान भएर जान्छ,लगानी तपाईंको दैलोमै आइपुग्छ । तपाईंको व्यवसायिक अनुभव खारिएपछि फण्ड जुटाउने कुरा समेत तपाईंका लागि सामान्य बन्नेछ । 

डर नम्बर ५
अनुभव, लम्बाई, जेण्डर र  छालाको रंगसँग जोडिएको डर
व्यवसायी बन्ने तीव्र इच्छा भएका मानिसहरुलाई लाग्ने डरमध्ये आफ्नो अनुभव नभएको डर पनि एक हो । त्यस्तै, आफ्नो उचार्इं, लिंग र छालाको रंगका कारण समेत मानिस व्यवसायमा हात हाल्न डराउने गरेका पाइन्छ । 
समाधान : तपाईंले यस्तो विषयवस्तुप्रति कुनै वास्ता नगर्नुहोस् । जेको व्यवसाय सुरु गर्नुहुँदैछ त्यसको राम्रो सेवा र गुणस्तरीय प्रोडक्ट बजारमा लैजानतर्फ ध्यान लगाउनुहोस् । मानिस कसैको राम्रो बडी वा पर्सनालिटीबाट प्रभावित हुन सक्लान्, तर उसको सुन्दर अनुहार र कसिलो ज्यानकै कारण उसले उत्पादन गरेको कम गुणस्तरको प्रडक्ट खरीद गर्दैनन् । व्यवसायका लागि सेवा तथा प्रोडक्ट नै गुणस्तरीय हुन आवश्यक हुन्छ । 

डर नम्बर ६
ग्राहक तान्न नसकिएला कि भन्ने चिन्ता
व्यवसाय गर्ने क्रममा धेरै मानिसलाई सुरुमै आफूले ग्राहकलाई तान्न नसकिएला कि भन्ने अर्को चिन्ताले सताउने गर्छ । आफ्नो व्यवसाय लक्षित ग्राहकबाट आफ्नो उत्पादनको बिषयमा राम्रो प्रतिक्रिया समेत नआउला भन्ने अर्को डर पनि हुन्छ । 
समाधान : सत्य यही हो कि , व्यवसाय सुरु हुने बित्तिकै तपाईसँग ग्राहकहरुको लाइन लाग्दैन । यस्तो बेलामा तपाईंले धैर्य गर्न सक्नुपर्छ र दृढ भएर अगाडि बढ्न पनि । यदि तपाईं सकारात्मक सोंच र हिम्मतका साथ व्यवसाय सुरु गर्नुहुन्छ भने निश्चित रुपमा केही समयपछि तपाईलाई ग्राहकको कुनै कमी हुन्न । 

डर नम्बर ७
सफलतालाई कायम राख्ने चिन्ता
व्यवसाय गर्नेहरुलाई हुने अर्को चिन्ता हो प्राप्त सफलतालाई जोगाइराख्ने । उनीहरु आफूले सफलता नै पाए पनि त्यसलाई निरन्तरता राख्न सक्ँिदन कि भन्ने कुराले बढी चिन्तित हुने गर्छन । यदि सफलतालाई निरन्तरता दिन सकिएन भने के होला भन्ने डर समेत मनमा हुन्छ । 
समाधान : यो एक सामान्य कुरा हो । यदि तपाईंले हरेक दिन आफूलाई अझ उत्कृष्ट बनाउने कोशिश छाड्नु भएन भने तपाईंको सफलता सधैं निरन्तर हुनेछ, जोगिइरहनेछ । 

डर नम्बर ८ 
परिवारसँग टाढा
अत्यधिक सफलताका कारण अक्सर मानिसहरुलाई आफ्ना परिवारजन, साथीभाईं र आफन्तहरुसँग टाढा भइएला भन्ने डर पनि हुन्छ । 
समाधान : सफलताको पछि दगुर्दा आफ्ना परिवार तथा प्रियजनहरुबाट टाढा भइएला भन्ने पीर वा डर नाजायज होइन । परिवारका सदस्यलाई तपाईंको व्यवसायिक सफलतासँगै तपाईंको साथ पनि उत्तिकै आवश्यक हुन्छ । यस्तो अवस्थामा तपाईंले आफ्नी पत्नी, बालबच्चा र आमाबुबालाई तपाई उनीहरुको सबै खालका सुरक्षा तथा आवश्यकताको ख्याल गर्नुहुन्छ भन्ने विश्वास दिलाउनुपर्छ । 

डर नम्बर ९
पर्याप्त आम्दानी नहुने डर
व्यवसायको दुनियाँमा उत्रिएका अधिकांश मानिसको मनमा लाग्ने अर्को डर हो यो । यस्ता मानिसहरु यदि आफ्नो व्यवसाय कुनै बेला चलेन भने त्यो स्थितिमा आफूले लगानीलाई रिकभर गर्न सक्छु कि सक्दिँन भन्ने बिषयमा डर मानिरहेका हुन्छन् । 
समाधान : तपाईंले व्यवसायी भनेको के हो भन्ने कुरा बुझ्न जरुरी हुन्छ । सामान्य लगानीदेखि अधिक लगानीसम्म गर्न सक्ने र जोखिम बहन गर्नसक्ने मानिस मात्र सफल व्यवसायी बन्न सक्छ । तपाईंले व्यवसाय सुरु गर्ने बित्तिकै तत्काल त्यसको रिटर्न खोज्ने गर्नुहुन्न, धैर्य गर्नुपर्छ, समय तपाईंकै पक्षमा हुनेछ । 

डर नम्बर १०
सबै रणनीति फेल भयो भने ?
केही मानिस यो लाइनबाट पनि सोच्ने गर्छन । उनीहरु सोच्छन कि यदि आफूले बनाएका सबै रणनीति फेल भए आफू सडकमा आइपुग्छु र सडकछाप हुन्छु । 
समाधान : यस्ता सोंच भएका मानिसले यो सोच्नुपर्छ कि कुनै पनि खेलमा एकपटक हारियो भन्दैमा खेल नै छाड्नु जायज हुन्न । व्यवसायमा समस्याहरु आउँछन् । समस्याले नै तपाईंलाई अझ राम्रो रणनीति बनाउने अवसर पनि दिन्छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसैले नआत्तिनुहोस्, आफूप्रति सधैं भरोसा गर्नुस् र उच्च आत्मविश्वाससहित अगाडि बढ्नुहोस् । तपाईं एकदिन सफल व्यवसायी बन्नुहुनेछ ।  
एजेन्सीबाट भावानुवाद