काठमाण्डौ । राष्ट्रपतिको निर्वाचनको विषयमा देखिएको राजनीतिक अन्यौल अन्तिम अवस्थामा ‘सरप्राइज’ दिंदै व्यवस्थापनको तहमा पुग्ने सम्भावना बढ्न थालेको छ । 

‘राजनीतिमा जे पनि सम्भव छ’ भन्ने उक्ति यसपटक समेत प्रमाणित हुनसक्ने गरी बिहीबारदेखि घटनाक्रमहरुमा नयाँ–नयाँ ट्वीस्ट देखिन थालेका छन् । 

नेपालमा सक्रिय दलहरुले प्राय बेला घर्किनै लाग्दा ‘सरप्राइज’हरु दिने गर्छन् । यसपटक पनि अन्तिम अवस्थामा कुनै यस्तै सरप्राइज आयो भने अचम्म नमान्दा हुन्छ । 

हिजो(बुधबार)सम्मको घटनाक्रमहरु हेर्दा वर्तमान सत्ता गठबन्धन जोगिने कुनै गुञ्जायस थिएन । चुनावअघिको ५ दलीय गठबन्धन ब्यूँताउने अनौपचारिक सहमति नै भइसकेको थियो । तर, बिहीबार बिहानदेखि राजनीतिमा नयाँ ट्वीस्टहरु देखिए । लगभग पुरानो गठबन्धन ब्यूँताउने गरी आवश्यक तयारी र छलफलमा जुटेका दलहरु एकाएक आ–आफ्नो बाटो छाडेर अलग–अलग बैठकमा सहभागी भए । कतिसम्म भने बुधबार साँझसम्म एकढिक्का हुने वाचाकसम गरेका ५ दलीय गठबन्धनमा सहभागी दलका केही शीर्ष नेताहरुले गोप्य रुपमा फरक समीकरण बनाउने गरी अलग–अलग छलफल नै गर्न भ्याए । 

दिनभरिको दौडधूप, दूतहरुको तीव्र परिचालन र गोप्य बैठकहरुको परिणाम साँझसम्म देखिन थालिसकेको छ । यसैको फलस्वरुप ठोस निर्णय गरी पुरानो गठबन्धन ब्यूँताउनका लागि महत्वपूर्ण बैठक बस्ने सहमति गरेका शीर्ष नेताहरु एकाएक पछि हटेका छन् । ती नेताका दूतहरुले मिडियाहरुलाई अन्तिम अवस्थामा जानकारी गराएका छन्–‘शीर्ष नेताहरुको कार्यव्यस्तताले आज हुने भनिएको निर्णायक बैठक स्थगित भएको छ ।’ 

तर, यसरी बैठक संयोगले मात्रै स्थगित भएको होइन । उच्च राजनीतिक स्रोतहरुकाअनुसार हिजोदेखि आजसम्मका एमालेका दोश्रो तहका नेताहरुको बाक्लो दौडधूप, माओवादीकै पनि नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुको सकारात्मक प्रयास तथा छलफल, चिनियाँ दूतहरुको सक्रियता लगायतका कारणले ब्यूँतिने अन्तिम प्रयासमा रहेको पाँचदलीय गठबन्धनमा फेरि संशय पैदा भएको छ । 

बिहीबार अघिल्लो दिनको झै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटेका छन् । आजको भेटमा प्रचण्डले ‘एमालेसँग पार्टी एकता गर्ने गरी तपाई राष्ट्रपतिको उम्मेद्वार बन्नुहँदैछ भन्ने कुरा सुनियो’ भनी नेपालको धारणा बुझ्ने कोशिश गरेका थिए । नेपालले सो विषयमा सकारात्मक प्रतिक्रिया दिएपछि प्रचण्ड एककदम अगाडि बढ्दै ‘तपाई एक्लै एमालेसँग मिलेर हुँदैन, बरु हामी पनि मिल्छौ, नेकपालाई ब्यूँताउने हो भने म तयार छु, तपाई राष्ट्रपति बन्नुहोला । यसले कम्युनिष्ट आन्दोलनलाई फेरि एउटा उचाईमा पुर्याउनेछ । यदि एमाले र विशेष गरी केपी ओली इमानदारितापूर्वक आउँछन् भने तपाईले नेकपा ब्यूँताउने गरी छलफल अगाडि बढाउनुस्’ भनेका थिए। 

प्रचण्डसँगको छलफलपछि माधव नेपालले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग भेट गरी नेकपा ब्यूँताएर अगाडि बढ्ने हो भने आफू राष्ट्रपतिको उम्मेद्वार बन्न तयार रहेको र यसले नेपालका सबै कम्युनिष्टहरुलाई राम्रै गर्ने बताएका थिए । नेपालले नेकपा ब्यूँताउँदै गर्दा ओलीसहित शीर्ष नेताहरुले विगतमा गरेका गल्ती नदोहोर्याउने गरी आत्माआलोचना गर्नुपर्ने, एकअर्काविरुद्ध छलछाम हुन नहुने र सबै नेताहरुको सही व्यवस्थापनमा सबै पक्ष उदार बन्नुपर्नेमा जोड दिएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सो प्रस्तावलाई सकारात्मक रुपमा लिंदै नेकपा ब्यूँताउने वातावरण बनाउने गरी आफू अगाडि बढ्ने बताएका थिए । 

ईश्वर पोखरेलमार्फत नेकपा नै ब्यूँताउने प्रस्ताव आएपछि एमाले अध्यक्ष केपी ओलीले समेत त्यसलाई सकारात्मक रुपमा लिएका स्रोतहरुको दाबी छ । ओलीकै निर्देशनमा एमालेका दोश्रो तहका नेताहरुको दौडधूप बुधबारको तुलनामा बिहीबार झनै बढेको थियो । दिनभर एमालेका दोश्रो तहका नेता र नेकपा एसका पनि अध्यक्षबाहेकका नेताहरुले थुप्रैपटक छलफल गरिसकेका छन् । सो क्रममा एमालेका नेताहरुले माओवादीका नेताहरुसँग समेत निरन्तर सम्वाद गरिरहेका छन् । 

यदि जारी सम्वाद र छलफलहरु सकारात्मक रुपमा अगाडि बढे भने नेकपा ब्यूँताउने ‘सरप्राइज’ आउनसक्ने सम्भावना बढेको छ । एमाले एक पदाधिकारीले बिजशालासँग भने–‘यसपटक पनि कांग्रेस हिस्स पर्ने अवस्था बन्दैछ । तपाई यत्ति बुझ्नुहोस् पाँचदलीय गठबन्धन ब्यूँतिन्न, सत्ता गठबन्धन टुट्दैन । सबै सहमतिमै हुन्छ ।’

कम्युनिष्टहरु फेरि मिलेर नेकपा ब्यूँताउने डरका कारण कांग्रेसले पनि आफ्नो प्रयासलाई छाडेको छैन । कांग्रेसलाई भारतीय दूतहरुको निकै ठूलो साथ छ । भारतीय संस्थापन पक्षका दूतहरुले शेरबहादुर देउवा वा कृष्ण सिटौलामध्ये एकजनालाई राष्ट्रपति बनाएर राष्ट्रिय सहमतिसहित अगाडि बढ्न विभिन्न माध्यमबाट दवाब सिर्जना गरिरहेको छ । 

अमेरिकी शक्तिहरुले पनि शेरबहादुर देउवालाई राष्टपतिकै रुपमा देख्न चाहेका छन् । उनीहरु शेरबहादुर देउवालाई सेरेमोनियल पदमा थन्काएर कांग्रेसबाट आगामी प्रधानमन्त्रीको रुपमा गगनकुमार थापालाई स्थापित गर्न चाहन्छन् ।  शक्तिराष्ट्रको आडभरोसामा कम्युनिष्टहरुमा फुटाउ र शासन गरको रणनीति लादिरहेको कांग्रेस बिहीबारदेखि भने झस्किएको छ । फेरि कम्युनिष्टहरु एक भएर आफूहरुमाथि धोका हुने हो कि भन्ने कुरामा ऊ सचेत देखिन्छ । त्यही भएर कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, गगन थापा, विश्वप्रकाश शर्मा लगायतलाई सत्ता गठबन्धन छिन्नभिन्न पार्ने रणनीतिलाई सफल पार्न निरन्तर परिचालन गरिरहेका छन् । आफू पनि सक्रिय भएर छलफल र सम्वादलाई जारी राखेका छन् । तर, बिहीबार साँझदेखि विकसित घटनाक्रममा फेरि कुनै अनपेक्षित ट्वीस्ट आएन भने अवस्था कांग्रेस अनुकूल नहुने देखिन्छ ।