काठमाण्डौ । ठूला चाडपर्वको शुभकामना आदानप्रदान तथा रिब्राण्डिंगको उद्देश्यले देशका प्रमुख शहरहरुमा आयोजना भइरहेको एनसेल मेला सुनसरीको धरान पुगेको छ । 

पूर्वाञ्चलको फेसन शहरको रुपमा परिचित धरानस्थित पब्लिक हाइस्कूलको मैदानमा एनसेल मेलाको पछिल्लो संस्करण आयोजना हुन लागेको हो । 

नारायणगढ, पोखरा र बुटबलमा दर्शकहरुलाई तताएको एनसेलसँगै त्यहाँ पुगेका कलाकारहरुले बिहीबार धरानेलाई तताउनेछन् । 

बिहान ११ बजे शुरु हुने मेलामा दर्शकहरुले चर्चित कलाकारहरुको प्रस्तुती लगायत विविध  मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागिताको अवसर पाउनेछन् । मेला अवधिमा कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मज्जा लुट्न सक्ने व्यवस्था मिलाइएको छ । 

मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, सन्दिप क्षेत्री, रेमोनदास श्रेष्ठ र समृद्घि राईले स्टेज तताउनेछन् भने चर्चित सांगीतिक समूह एक्स व्याण्डले आफ्नो उत्कृष्ट गीतहरु प्रस्तुत गर्ने कार्यक्रम छ । डिजे रुपेश र कार्टुन्जक्रुको प्रस्तुतीले दर्शकहरुलाई थप मनोरञ्जन दिने एनसेलले बताएको छ । साँझको समयमा विदेशी कलाकारहरुको पृथक प्रस्तुती समेत राखिएको छ । 

मेलामा सबै उमेर समूहका दर्शकहरुलाई ध्यानमा राखी रोचक कार्यक्रम तथा स्टलहरु समावेश गरिएका छन् । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन जस्ता विविध आकर्षणहरु राखिएका छन् भने गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोललगायतका गेमहरु रहनेछन् ।

अवलोकनकर्ताले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर समेत लिन सक्ने व्यवस्था मिलाइएको छ । एनसेल हाईटेकजोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनौठो अनुभव बटुल्न सक्ने बताइएको छ । 

साथमा लाखे नाच, दशैं पिङ, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि पनि मेलामा समावेश गरिएका छन् । दर्शकहरुले मेला अवधिमा नेपाली, ईण्डियन र चाईनिज परिकारको  समेत स्वाद लिन सक्नेछन् ।

धरानपछि एनसेल मेला असोज ८ गते बिर्तामोडमा पुगेर समापन हुने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । उनका अनुसार तीन शहरहरुमा दर्शकको उत्साहजनक सहभागिता रहेको र धरानमा पनि यस्तै साथ हुने विश्वास व्यक्त गरेका छन् ।