काठमाण्डौ । बीमाको दायरा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) ४४ प्रतिशत जनसंख्यामा पुगेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनाको तथ्यांकअनुसार बीमाको दायरा ४४ प्रतिशत जनसंख्यामा पुगेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा बीमाको दायरा करिब ३ प्रतिशतले मात्रै बढेको छ।
गत आर्थिक वर्ष २०७९–८० को साउन महिनामा बीमाको दायरा ४१.२३ प्रतिशत जनसंख्यामा पुगेको थियो।
प्राधिकरणले गत आर्थिक वर्षमा बीमाको दायरा बढाउन जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई बीमा सचेतनासम्बन्धी कार्यक्रमहरु अनिवार्य गर्नुपर्ने निर्देशन दिएको थियो। प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले वर्षभरि ३ वटा प्रदेशमा बीमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने थियो। तर, केही बीमा कम्पनीहरुले एकै स्थानमा बीमा सचेतना कार्यक्रम गरी प्राधिकरणको निर्देशन आलटाल गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरण आफैँले पनि विभिन्न क्षेत्रमा बीमासम्बन्धी अन्तर्क्रियाहरु गर्दै आइरहेको छ। चालु आर्थिक वर्षमा बीमाको दायरा गत वर्षको भन्दा उल्लेख्य बढ्ने प्राधिकरणको अनुमान छ।
चालु आर्थिक वर्षमा बीमा व्यवसायमा भने उत्कृष्ट वृद्धिदर देखिएको छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा मात्रै कुल २३ अर्ब ५९ करोड २८ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्। गत आर्थिक वर्ष बीमा कम्पनीहरुले यस अवधिसम्म १९ अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए। यसर्थ समग्रमा बीमा कम्पनीहरुको व्यवसाय २०.७४ प्रतिशतले वृद्धि भएको छ।
साउन महिनामा जीवन बीमा कम्पनीहरुले मात्रै १९ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छन् भने निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। जीवन बीमा व्यवसाय गत वर्षको तुलनामा ३०.२१ प्रतिशतले वृद्धि भएको हो भने निर्जीवन बीमा व्यवसाय ११.०९ प्रतिशतले घटेको छ।
त्यस्तै, जीवन बीमालेख संख्या ७.३६ प्रतिशतले वृद्धि भई १ करोड ४० लाख २१ हजार पुगेको छ भने निर्जीवन बीमालेख संख्या ३.५३ प्रतिशत ले घटेर २ लाख १३ हजार ८२८ मा कायम भएको छ।
त्यस्तै गत वर्षको तुलनामा सबैभन्दा बढी वैदेशिक रोजगार बीमालेख संख्या ९०.६९ प्रतिशतले वृद्धि भई १६ लाख ७६ हजार २९६ पुगेको छ। गत वर्ष यस्तो बीमालेख संख्या ८ लाख ७९ हजार ७४ रहेको थियो।
सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि वैदेशिक रोजगार बीमा अनिवार्य गरेसँगै यस्तो बीमालेखको संख्या वृद्धि हुन पुगेको हो। २–३ वटा जीवन बीमा कम्पनीले मात्रै बिक्री गर्दै आइरहेको यो बीमालेख सरकारले अनिवार्य गरेपश्चात् हाल १० वटा कम्पनीले बिक्री गरिरहेका छन्।
14 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
12 hours ago
13 hours ago
14 hours ago