काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ।

कम्पनीको आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीलाई नियामक बीमा समितिले ३० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो। बीमा समितिबाट स्वीकृति पाएसँगै कम्पनी रजिस्ट्रार कार्यालयबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी हकप्रद सेयर जानकारीका लागि आवश्यक प्रक्रियाको थालनी भइसकेको पनि शिखर इन्स्योरेन्सले जनाएको छ। 

कम्पनीको गत चैत ९ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षको बोनस सेयर वितरणपछि हुन चुक्तापुँजीको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने मुख्य अजेन्डा पारित भएको थियो। सोही सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २७.७६९ प्रतिशत बोनस सेयर पनि वितरण प्रस्ताव पनि पारित गरेको थियो। 

बोनस सेयर र हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँ माथि पुग्नेछ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको खुद नाफा ३६ करोड ३३ लाख रुपैयाँ बढी मुनाफा आर्जन गरेको छ। कम्पनीले यो अवधिमा १ अर्ब ८ करोड रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ भने ६४ करोड २ लाख रुपैयाँ बढीको दाबी भुक्तानी गरेको छ।