काठमाण्डौ । बीमकको लगानी निर्देशिकाले निर्धारण गरेको सीमाभन्दा बढी कुनै पनि बीमा कम्पनीहरुले लगानी गर्न नपाउने भएका छन् । 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले साउनदेखि निर्देशिकाले तोकेको सीमाभन्दा बढी सेयर बजारमा कुनै पनि कम्पनीले लगानी गर्न नपाउने व्यवस्था कडाईका साथ लागू हुने जानकारी दिएका हुन् । 

यस्तै, सेयर बजारबाहेक मुद्धती निक्षेपमा पैसा राख्ने र अन्य उत्पादनशील क्षेत्रमा लगानी नगर्ने प्रवृतिलाई समेत निरुत्साहित गरिने उनले जानकारी दिए ।

उनले साउन १ गतेदेखि प्रत्येक कम्पनीमा समितिले २ पटक भौतिक रुपमै टोली पठाएर कम्पनीहरुको सुपरीवेक्षण हुन थाल्ने र अब पनि निर्देशिकामा भएको व्यवस्था र समितिले दिएका नीति निर्देशन कार्यान्वयन नगर्ने कम्पनीलाई माफी दिन नसकिने प्रष्ट पारे । 

‘जे छ, त्यसमै रमाउने, तलमाथि गर्ने र रेट कटिङ गर्ने अवस्थाको अब अन्त हुन्छ । साउन १ गतेदेखि सबै कुरा टाइट हुन्छ ।’ सिलवालले भने–‘अब गल्ती गर्नेलाई माफी हुँदैन, सकियो त्यो युग । मैले धेरैलाई माफी दिइसकेँ, अब नो एक्सक्यूज । यदि कुनै पनि कम्पनीले ह्याङ्कीप्याङ्की गर्ने हो भने मर्जरमा गए हुन्छ ।’ 

उनले यो क्रममा निर्देशिकाले तोकेको सीमाभन्दा बढी सेयर बजारमा लगानी गर्ने कम्पनीमाथि पनि कारबाही हुने प्रष्ट पारे । 

यस्तै, सीमाभन्दा बढी मुद्धतीमा राख्ने र ब्याजकै भरमा चल्न खोज्नेहरु पनि कारबाहीमा पर्ने उनको प्रष्टोक्ति छ । 

बीमकको लगानी निर्देशिकाले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले लगानी गर्नुपर्ने क्षेत्र र सीमाको विषयमा प्रष्ट व्यवस्था गरिदिइसकेको छ।

कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमीटेड कम्पनीको साधारण सेयरमा लगानी गर्न सक्छन्, तर त्यसरी लगानी गर्दा कुल टेक्निकल रिजर्बको १० प्रतिशतसम्म मात्र लगानी गर्न पाइने निर्देशिमा उल्लेख छ । सेयर लगानी गर्ने कम्पनीको चुक्तापूँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न समेत पाइन्न । 

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार सेयर र ऋणपत्रमा कुल टेक्निकल रिजर्बको २० प्रतिशतसम्म मात्र लगानी गर्न पाउँछन् । लगानी गरेको कम्पनीको चुक्तापूँजीको १० प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न पाइन्न । 

बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमीटेड कम्पनीको डिवेञ्चरमा कुल टेक्निकल रिजर्बको २० प्रतिशतसम्म मात्र लगानी गर्न पाइन्छ । यसरी लगानी गर्दा लगानीका लागि आह्वान गरिएको कुल रकमको १० प्रतिशतभन्दा बढी रकम एउटै कम्पनीमा लगानी गर्न पाइने छैन । 

नागरिक लगानीकोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा कुल टेक्निकल रिजर्बको ५ प्रतिशतसम्म लगानी गर्न पाइन्छ । यसरी लगानी गर्दा एउटै योजनामा ५ प्रतिशतभन्दा बढी रकम लगानी गर्न नपाइने निर्देशिकामा उल्लेख छ । 

विकास बैंकहरुको मुद्धती निक्षेपमा टेक्निकल रिजर्बको २० प्रतिशतसम्म र ग वर्गका वित्तीय संस्थाको मुद्धती निक्षेपमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । 

कम्पनीहरुले घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्बको ५ प्रतिशतसम्म मात्र लगानी गर्न पाउँछन् । 

यस्तै, राष्ट्रबैंकको ऋणपत्र तथा बचत पत्र, नेपाल सरकारको जमानतप्राप्त बचतपत्र वा ऋणपत्रमा कुल टेक्निकल रिजर्बको ५ प्रतिशतसम्म मात्र लगानी गर्न पाइन्छ । 

वाणिज्य बैंक वा पूर्वाधार बैंकको मुद्धतीमा कुल टेक्निकल रिजर्बको ४० प्रतिशतसम्म लगानी गर्न पाइने व्यवस्था छ । 

अब यही व्यवस्थाको अक्षरंश पालनामा कडाई गरिने अध्यक्ष सिलवालले प्रष्ट पारेका हुन् । 

उनले शाखा मात्र खोल्ने, तर प्रगति चाहिँ नगर्ने प्रवृतिको समेत अन्त गरिने प्रष्ट पारे । ‘अब कम्पनीहरुले शाखा मात्र खोलेर भएन, त्यसबाट हुने उपलब्धि पनि देखाउनुपर्छ । आफ्नो विजिनेश ग्रोथको राम्रो एनालिसिस हुनुपर्यो ।’ उनले थपे–‘अब प्रत्येक बीमा कम्पनीले रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टमेन्ट तयार गर्नुपर्छ । रिसर्चमा खर्च गर्नुपर्छ । त्यो ल्याकत छैन भने राम्रो कम्पनीसँग मर्जरमा गए हुन्छ ।’ 

कागज बोकेर धाइरहनुपर्दैन
अध्यक्ष सिलवालले अब बीमा कम्पनीहरुले सानोभन्दा सानो कामका लागि पनि कागज नै बोकेर समिति आइरहनु नपर्ने बताए । ‘हामी सफ्टवेयर डेभलपमेन्टको काम सिध्याउँदैछौ । कतिपय कुराहरु अब अनलाइनबाटै रिपोर्टिङ गर्ने व्यवस्थाको सुरुवात गर्दैछौ ।’ सिलवालले भने–‘सानातिना कामका लागि कागज बोकेर अब बीमा समिति नै धाउनुपर्ने युगको अन्त हुँदैछ । समितिमा आउने कागज घटाउनुपर्छ भनेर म लागिरहेको छु । हामी पनि स्मार्ट बन्नुछ ।’

कम्पनीहरुलाई यो सुविधा दिएर अझ बढी जिम्मेवार बनाउन चाहेको उनले खुलाए । ‘अझ जिम्मेवार हुनुहोस् भन्नका लागि यो गरिँदैछ । तलमाथि भयो भने सिधैं कारबाही हुन्छ अब ।’ उनले थपे ।  

कम्पनी शहरमुखी भए !
अध्यक्ष सिलवालले निर्जीवन बीमा कम्पनीहरु धेरै नै शहरमुखी र सुविधामुखी भएका आरोप लगाएका छन् । 

‘शहरमा बसेर ठूला ठूला प्रोपर्टीको बीमा गराउँदैमा मख्ख छन् कम्पनीहरु, तर अब यसरी हुँदैन ।’ उनले थपे–‘अब काठमाण्डौ केन्द्रीत बीमा कम्पनीहरु पनि गाउँ–गाउँ पस्नुपर्छ । बीमाको चेतना जगाउन थाल्नुपर्छ ।’ 

शहरमुखी र सुविधामुखी भएकै कारण निर्जीवन बीमा कम्पनीहरुको टोटल विजिनेशमा ५ प्रतिशत मात्र योगदान रहेको र यो लाजमर्दो विषय रहेको उनले बताए । ‘यसको अर्थ नन्लाइफको विजिनेश एरिया ९५ प्रतिशत बाँकी नै छ भन्ने हो ।’ उनले भने–‘लाइफको पनि ८० प्रतिशत हाराहारी जनसंख्यामा पहुँच नै पुगेको छैन ।’ 

उनले अब कम्पनीहरुले यसरी काम गरेर नहुने प्रष्ट पारे । ‘अब काठमाण्डौ वा शहरमा मात्र होइन, गाउँतिर जम्प गर्नुपर्छ ।’ उनले भने–‘थोरै पैसाबाट पनि बीमा हुने प्रडक्ट तयार गर्नुपर्छ । ५० रुपैयाँ तिर्दा गाउँको एउटा झूप्रोको बीमा हुन्छ भने किन नगर्ने ? के बीमा व्यवसाय धनाढ्यका लागि मात्र हो त ?’