काठमाण्डौ । व्यापक विरोध भएपछि बीमा समितिले ३० दिनमा बीमालेख फिर्ता लिन पाइने व्यवस्था हटाएको छ। 

बीमा समितिले गत असार २३ गते जारी गरेको जीवन बीमासम्बन्धी निर्देशिका, २०७८ बीमकहरुले जीवन बीमालेख जारी भएको ३० दिनभित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरेको थियो। उक्त व्यवस्थासहितको निर्देशिका जारी भएपछि अव्यवहारिक भएको र यसले बीमा जीवन बीमाक्षेत्रमा विकृति निम्त्याउने भन्ने विरोध भएपछि समितिले निर्देशिकाबाट यो व्यवस्थालाई हटाएको हो। ३० दिनको बीमालेख शुल्क फिर्ता गर्दा बीमा योजना बिक्री गर्दाखेर बीमा अभिकर्तालाई विभिन्न कमिसन तथा उक्त कमिसनमा सरकारी कर तिरिने हुँदा यो व्यवस्था अव्यवहारिक भएको भन्दै विरोध भएको थियो। यसका साथै यो व्यवस्थाको आडमा बीमा अभिकर्ताहरुले कमिसनको खेलमा विभिन्न कम्पनीमा बीमा गराउने गलत अभ्यास बस्ने भन्दै आवाज उठेको थियो। 

यसैगरी बीमा कम्पनीहरुले आफ्नो आम्दानी बढी देखाउन आर्थिक वर्षको अन्त्यतिर बीमा योजना बिक्री गरी अर्को आर्थिक वर्षको सुरुआतमा समपर्ण गर्न लगाउनेजस्ता विकृतिहरु मौलाउन सक्ने सम्भावनालाई बल पुर्याउने भन्दै उक्त व्यवस्थाको व्यापक विरोध भएको थियो। 

निर्देशिकाको दफा २१ को उपदफा १ मा ‘बीमकले जारी गर्ने सबै किसिमका बीमालेखहरुमा ३० दिनको बीमालेख फिर्ता गर्ने अवधिको व्यवस्था गर्नुपर्नेछ र सो अवधि बीमालेख जारी भएको मितिदेखि लागू हुनेछ’ भन्ने व्यवस्था गरिएको थियो। 

त्यस्तै उपदफा २ मा ३० दिनभित्र बीमित/बीमालेख धारकले बीमालेख फिर्ता गर्न लिखित अनुरोध गरेमा सो बीमालेखअन्तर्गत कुनै दाबी नपरेको अवस्थामा बीमकले बीमालेख बापत लिएको सम्पूर्ण बीमाशुल्क रकम फिर्ता गरी बीमालेख रद्द गर्नुपर्ने व्यवस्था गरिएको थियो। उपदफा ३ मा भने बीमा कम्पनीहरुले बीमकलाई बीमाशुल्क फिर्ता गर्दा मेडिकल अन्डरराइटिङबापतको खर्च, बीमालेख जारी मितिदेखि बीमालेख फिर्ता गर्न लिखित अनुरोध गरेको मितिसम्मको जोखिम बहन गरेबापतको समानुपातिक बीमाशुल्क रकम र टिकट दस्तुर कट्टा गर्न सक्ने व्यवस्था गरिएको थियो।