– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। 

सञ्चालनमा भएका बीमा कम्पनीहरुको संख्या धेरै भएको भन्दै बीमा समितिले पुँजी वृद्धिका लागि अध्ययन अघि बढाएको छ। बीमा समितिका सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा एउटा कमिटी गठन गरी समितिले अध्ययन अघि बढाएको हो। अध्ययनको निष्कर्ष केही दिनमा नै आउने सम्भावना प्रबल रहेको देखिन्छ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सञ्चार माध्यमहरुमा अहिले सञ्चालनमा भएका बीमा कम्पनीहरुको आकार सानो हुनुका साथै संख्या धेरै भएकाले पुँजी वृद्धि आवश्यक रहेको अभिव्यक्ति दिँदै आएका छन्। 

विगतमा पनि बीमा कम्पनीहरुको पुँजी वृद्धिको कुरा उठ्दै आएकाले बीमा समितिले यसपटक बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्न निर्देशन दिने निश्चित देखिन्छ। तर, बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्दैगर्दा समितिले मर्जर, बोनस सेयर वा हकप्रद निष्कासन, कुन विकल्प अनुशरण गर्छ? भन्ने बीमा व्यवसायी, बीमा कम्पनीका सीईओका साथै लगानीकर्तामा चासोको विषय बनेको छ।  

बीमा कम्पनीका सीईओहरु भने पुँजी वृद्धि आवश्यक नभएको तर गर्ने नै भए मर्जरको तुलनामा बोनस सेयर र हकप्रद निष्कासन उपयुक्त रहेको बताउँछन्।

नेपाल इन्स्योरेन्स कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत ईश्वर पोख्रेल निर्जीवन बीमा कम्पनीहरुले जति बिजनेस गरेका छन्, त्यसका लागि अहिले भएको पुँजी नै पर्याप्त रहेको बताउँछन्। ‘बीमा समिति बीमा कम्पनीहरुको नियामक निकाय हो। समितिले पुँजी वृद्धि निर्देशन दिएमा हामीले मान्नुपर्छ। तर, पुँजी वृद्धि गर्दैगर्दा क्रस होल्डि भएका कम्पनीहरु मर्जरमा जाँदा उपयुक्त हुन्छ’, पोख्रेल भन्छन्, ‘अन्य कम्पनीहरुलाई भने बोनस र हकप्रदको बाटो पनि खुलाउनुपर्छ। बोनसले पुँजी वृद्धि विस्तारै हुन्छ। तर, हकप्रद निष्कासन गर्दा कम्पनीको एकै पटकमा पुँजी वृद्धि हुन्छ।’ 

बीमा कम्पनीहरुको नेसनल कभरेजका लागि शाखा विस्तार पनि आवश्यक रहेको पोख्रेलले बताए।

अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री बीमा कम्पनीहरुको पुँजी वृद्धि आवश्यक रहेको बताउँछन्। ‘बीमा कम्पनीहरु रिस्कलेस क्यापिटलमा जान लागेकाले क्षमता वृद्धिका लागि भए पनि पुँजी वृद्धि आवश्यक छ। अहिले रिस्कलेस क्यापिटलमा नजाँदा अबको पाँच वर्षमा जानैपर्छ’, उनले भने, ‘त्यसैले बीमा व्यवसाय सञ्चालनको लागि भए पनि बीमा कम्पनीहरुको क्षमता बढाउन आवश्यक छ।’

दीर्घकालीन लगानी गर्न, थप सम्पत्ति जुटाउन, कम्पनीको आफ्नै संरचना बनाउन, प्रदेशस्तरमा विस्तारको लागि पनि बीमा कम्पनीहरुलाई थप पुँजी आवश्यक हुने खत्रीले बताए। ‘लगानीकर्ताहरु हकप्रदका लागि थप लगानी गर्न इच्छुक छन् भने हकप्रदको बाटो खुलाउनुपर्छ’, खत्री भन्छन्, ‘हकप्रद लगानीकर्ताहरुको अधिकारको कुरा हो। त्यसैले लगानीकर्ताहरु पुजी वृद्धि गर्न हकप्रदको बाटोबाट इच्छुक नभएमा मात्र मर्जरमा जाने विकल्प अपनाउँदा उपयुक्त हुन्छ।’

ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री चुक्तापुँजी बढाउँदा कम्पनी बलियो हुने भएकाले पुँजी वृद्धिले कम्पनीलाई राम्रो हुने बताउँछन्। खत्री भन्छन्, ‘पुँजी वृद्धिबारे समितिले अहिले अध्ययन गरिरहेको छ। त्यसैले पुँजी वृद्धि गर्दा मोरालिटी व्यवहारिक हुनुपर्छ। समितिले समय निर्धारण गरी कति समयमा निर्धारित चुक्ता पुँजी बनाउने भनेर पनि उल्लेख गर्नु पर्छ।’

‘बोनसले एकैपटक पुँजी वृद्धि गर्न सम्भव छैन’, खत्री भन्छन्, ‘त्यसैले लगानीकर्ताहरुको हकप्रद हाल्ने इच्छा हुनुका साथै क्षमता भएमा हकप्रद उपयुक्त हुन्छ। समितिले चुक्ता पुँजी बढाउने निर्णय गर्दै गर्दा हकप्रद, बोनस र समय तिनै कुरा सन्तुलित हुनुपर्छ। समितिले निर्णय गर्दा कति समयमा निर्धारित चुक्तापुँजी बनाउने भन्ने व्यवहारिक निर्णय गर्नुपर्छ।’

फोर्स मर्जर चुनौती पूर्ण हुने खत्रीले बताए। ‘ब्यालेन्सिट मिलाउन सजिलो होला तर कर्मचारी व्यवस्थापन लगायतले बीमा कम्पनीहरुमा थप चुनौती थपिन्छ’, उनले भने, ‘त्यसैले पुँजी वृद्धिका लागि अन्य विकल्पहरु अपनाउँदा उपयुक्त हुन्छ।’