– अनन्त्य सुन्दर

काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको चैत १० गते बसेको सञ्चालक समिति बैठकले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको छ। 

समितिले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र तोकिएको चुक्तापुँजी पुर्याउन समय सीमा दिएको छ। यसका साथै बीमा समितिले बीमा कम्पनीहरुलाई ३० दिनभित्रमा तोकिएको पुँजीवृद्धिको योजना पेस गर्न निर्देशन पनि दिएको थियो। 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बीमा समितिमा उक्त समय सीमाभित्र १२ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनी गरी कुल २४ वटा बीमा कम्पनीहरुले पुँजीवृद्धि योजना पेस गरेका छन्। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। अर्थात् १५ वटा बीमा कम्पनीहरुले समितिमा योजना पेस गरेका छैनन्।

अधिकांश बीमा कम्पनीहरुले पुँजीवृद्धिका लागि पहिलो प्राथमिकतामा हकप्रद र दोस्रोमा मर्जर राखिएको भनिएको छ। बीमा कम्पनीहरुका सञ्चालक समितिले कुन विकल्प अपनाएर पुँजीवृद्धि गर्ने भन्ने छलफलपश्चात् योजना बीमा समितिमा पेस गरेका हुन्। सूचीकृत संस्थाहरुले मर्जर, हकप्रद निष्कासनजस्तो मूल्य संवेदनशील निर्णयहरु सञ्चालक समितिबाट पारित भएपछि सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। तर, बीमा कम्पनीहरुले सञ्चालक समितिबाट पारित भएपछि नेप्सेका साथै सर्वसाधारणहरुलाई जानकारी नदिई बीमा समितिमा मात्र पेस गरेको पाइएको छ।  

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले मूल्य संवेदनशील विषयबारे नेप्सेलाई तत्काल जानकारी गराउनु भनेर नेप्से र सूचीकृत कम्पनीहरुसँग सम्झौता भएको बताए। तर, बीमा कम्पनीहरुले भने सञ्चालक समितिबाट पुँजीवृद्धि योजनाबारे भएको निर्णय नेप्सेलाई अहिलेसम्म जानकारी दिएका छैनन्।

नेप्सेको धितोपत्र सूचीकरण विनियमावली २०७५ परिच्छेद ६ ‘सूचना तथा जानकारी प्रवाह सम्बन्धी व्यवस्था’ को उपविनियम १ को (घ) मा धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने भनिएको छ। त्यसका साथै उक्त किसिमका विवरण एवं सूचना प्राप्त हुनासाथ लगानीकर्ताको जानकारी लागि नेप्से वेभसाइटमार्फत सार्वजनिक गर्ने भनिएको छ।

बीमा कम्पनीहरुले समितिमा पुँजीवृद्धि योजना पेस गरिसकेकाले कम्पनीका सञ्चालकका साथै बीमा कम्पनीका कर्मचारीहरुलाई उक्त विषयमा जानकारी हुँदै गर्दा आमलगानीकर्ताहरु भने मूल्य संवेदनशील उक्त महत्वपूर्ण सूचनाबाट वञ्चित भएको देखिन्छ। 

बीमा कम्पनीहरुले नेप्सेका साथै सर्वसाधारणलाई समयमा जानकारी नगराउँदा बजारमा चलखेलका साथै इन्साइडर ट्रेडिङजस्ता गतिविधि बढ्ने सम्भावना उच्च हुने देखिएको छ। आजको बजार ९५.५२ अंक अर्थात् ४.११ प्रतिशतले बढ्दा जीवन बीमा कम्पनीको सूचक ३.३६ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको सूचक ४.१३ प्रतिशतले बढेको छ।

समितिमा पुँजीवृद्धि योजना पेस गरिसकेको अजोड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले प्रोसेसमा नै भएकाले जानकारी नगरिएको बताए। ‘हामीले अहिले समितिमा प्रस्तावमात्र पेस गरेका छौँ। समितिमा पनि उक्त प्रस्ताव माथि छलफल होला। त्यसैले फाइनल भएपछि जानकारी गराउँछौँ’, उनले भने।

सगरमाथा इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री पनि क्यापिटल प्लान भएकाले अहिले नै पब्लिकलाई डिस्क्लोज नगरिएको बताउँछन्। ‘बीमा समितिले कुन मोडल अपनाएर पुँजीवृद्धि गर्ने भनेर मागेकाले अहिले नै डिस्क्लोज नगरिएको हो’, उनले भने, ‘कम्पनीले पारित गरेको खण्डमा २४ घन्टाभित्र नै जानकारी गराउन आवश्यक थियो।’

सेयर बजारका जानकार तथा सक्रिय लगानीकर्ता केशव कोइराला (काका) मूल्यमा चलखेल गर्नका लागि नै लगानीकर्ताहरुलाई जानकारी नगरिएको बताए। ‘सञ्चालक समितिबाट पारित हुनेबित्तिकै सर्वसाधारणलाई वेबसाइटमार्फत जानकारी गराउनुपर्छ’, उनले भने, ‘तर सञ्चालक समितिबाट पारित भइसकेको योजना बीमा समितिसम्म पुग्दा पनि सर्वसाधारणलाई जानकारी गराइएको छैन। बीमा समितिले योजना गोप्य रुपमा ल्याउन भनिएको छैन। त्यसैले चलखेल गर्नका लागि नै जानकारी नगराइएको बुझिन्छ।’