काठमाण्डौ । बीमा समितिले अजोड इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद रद्द गर्न निर्देशन दिएको छ। 

बीमा समितिले अजोड इन्स्योरेन्सलाई पत्र पठाउँदै हकप्रद निष्कासनको प्रस्ताव रद्द गर्न निर्देशन दिएको हो। अजोडलाई काटिएको पत्रमा बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति रहेको र बीमा समितिलाई थाहै नदिई हकप्रदको अजोडले आफ्नो वार्षिक साधारणसभाको मुख्य प्रस्तावमा हकप्रद निष्कासनको अजेन्डा राखेकोले यो अजेन्डा रद्द गर्न निर्देशन दिएको छ। 

बीमा समिति स्रोतका अनुसार बीमा समितिको पत्र प्राप्त भएसँगै उक्त हकप्रदको अजेन्डा अजोडले रद्ध गर्नुपर्ने हुन्छ । हकप्रदको अजेन्डा रद्द गरिएको जानकारी अजोडले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई दिएर यो विषय टुंग्याउनसक्ने स्रोतको दाबी छ । 

अजोडले ५० प्रतिशत हकप्रद निष्कासनको अजेन्डासहित गत चैत १७ गते वार्षिक साधारणसभाको सूचना प्रकाशित गरेको थियो। तर अघिल्लो दिन नै अर्थात चैत १६ गते यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशत वृद्धि भई पोजेटिभ सर्किट लागेको थियो। 

धितोपत्र बोर्डले गत चैत १८ गते नै उक्त दिन (चैत १६) अजोड इन्स्योरेन्सको सेयर कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेस गर्न नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरिसकेको छ। 

त्यस्तै गत चैत १९ गते बोर्डले पत्र पठाउँदै अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने सूचना प्रकाशनअघि नै चैत १६ गते धितोपत्र कारोबारमा १० प्रतिशत वृद्धि भई सर्किट लागेको भनी सो कारोबारसम्बन्धी विवरण बोर्डमा पेस गर्न पनि निर्देशन दिइसकेको छ।

अर्थ मन्त्रालयले सेयर बजारमा सूचना चुहाएर गत साता गरिएको अजोड इन्स्योरेन्सको सेयर कारोबार सम्बन्धमा छानबिन गर्न सोमबार नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

मन्त्रालयले धितोपत्र बोर्डलाई पठाएको पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो। पत्रमा भित्री सूचना चुहाएर गरिएको अजोड इन्स्योरेन्सको कारोबार सम्बन्धमा व्यापक जनगुनासो आएकाले त्यसको अध्ययन गरी अविलम्ब जानकारी गराउन भनिएको छ । 

अर्थ मन्त्रालयकै निर्देशनमा धितोपत्र बोर्डले सोमबारै एक अध्ययन समिति गठन गरेको छ । बोर्डका निर्देशक अम्बिका गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । समितिलाई अजोड इन्स्योरेन्सको कारोबार सम्बन्धमा अध्ययन गरी यथाशीघ्र प्रतिवेदन बुझाउन कार्यादेश प्रदान गरिएको छ।