काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४८.८१ प्रतिशतले घटेको हो। गत वर्ष कम्पनीले यही अवधिमा ८९ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ८.३४ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ५५ करोड ७७ लाख रुपैयाँ रहेकोमा यो वर्ष घटेर ५१ करोड ११ लाख रुपैयाँमा झरेको छ। 

कम्पनीको सञ्चाल मुनाफा पनि ४९.४२ प्रतिशतले घटेर ४८ करोड ३४ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो मुनाफा ९५ करोड ५७ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको रिजर्भमा ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। गत वर्ष रिजर्भमा ४ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो। 

सेयर पुँजी २ अर्ब ९५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १५.५४ रुपैयाँ रहेको छ। पीई रेसियो २७.३५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २३५.५० रुपैयाँ रहेको छ।