काठमाण्डौ । यात्रुको सहजताका लागि बुद्ध एयरले प्रदेशस्तरमा आफ्नो उडान गन्तव्य विस्तार गर्ने भएको छ। 

देशमा आएको राजनीतिक परिवर्तन र विकेन्द्रीकरणलाई आत्मसात गर्दै आफ्नो सेवालाई संघीय राजधानी काठमाण्डौबाट मात्र नभई प्रदेश–प्रदेशलाई पनि जोड्ने हिसाबले आउँदो मे १ तारिखदेखि नयाँ गन्तव्य विस्तार गर्न लागिएको बुद्ध एयरले जनाएको छ।जसअनुसार बुद्ध एयरले पोखरा–नेपालगन्ज, पोखरा–विराटनगर, पोखरा–सिमरा, पोखरा–भैरहवा, भैरहवा–भरतपुर र तुम्लिङटार–विराटनगर उडान सुरु गर्ने भएको हो। 

यी गन्तव्यमा उडान सुरु गर्नुको मुख्य उद्देश्य गण्डकी प्रदेशको राजधानी पोखराबाट विभिन्न प्रदेशहरुलाई जोड्नु रहेको पनि बुद्ध एयरले जनाएको छ। हाल यी उडाहरु परीक्षणका रुपमा रहने पनि बुद्ध एयरले स्पष्ट पारेको छ। 

यीमध्ये पोखरा–नेपालगन्ज उडानका लागि प्रतियात्रु भाडादर अधिकतम ७ हजार २०० रुपैयाँ, मध्यम ५ हजार १०० रुपैयाँ र न्यूनतम ४ हजार ५०० रुपैयाँ तोकिएको छ। 

त्यस्तै पोखरा–विराटनगर उडानका लागि अधिकतम १० हजार ८०० रुपैयाँ, मध्यम ७ हजार ६०० रुपैयाँ र न्यूनतम ६ हजार रुपैयाँ भाडादर तोकिएको छ। पोखरा–सिमरा उडानका लािग भने बुद्ध एयरले अधिकतम ६ हजार ७०० रुपैयाँ, मध्यम ४ हजार ८०० रुपैयाँ र न्यूनतम ४ हजार ३०० रुपैयाँ तोकिएको छ।

यसैगरी तुम्लिङटार–विराटनगरको भाडादर भने अधिकतम ३ हजार २०० रुपैयाँ, मध्यम २ हजार ८०० रुपैयाँ र न्यूनतम २ हजार ५०० रुपैयाँ तोकिएको छ। पोखरा–भैरहवा उडानका लागि भने अधिकतम ३ हजार ९०० रुपैयाँ, मध्यम ३ हजार ६०० रुपैयाँ र न्यूनतम ३ हजार १०० रुपैयाँ तोकिएको बुद्ध एयरले जनाएको छ। 

भैरहवा–भरतपुर उडानका लागि हाल अधिकतम ४ हजार रुपैयाँ, मध्यम ३ हजाररुपैयाँ र न्यूनतम २ हजार ५०० रुपैयाँ तोकिएको छ।

यी अधिकतमदेखि न्यूनतम भाडादर एटीआर–७२ को सञ्चालन खर्चमा आधारित रहेको बुद्ध एयरले जनाएको छ। सुरुआती उडानहरु यही भाडादरबाट बुद्ध एयरले सानो जहाज ‘वीचक्राफ्ट’ बाट गर्नेछ। 

यात्रुको माग प्रक्रियालाई ध्यानमा राखी आगामी दिनका लागि उडानहरुलाई दैनिक बनाइने र ठूला जहाज एटीआरबाट उडान पर्ने बुद्ध एयरले जनाएको छ। अन्तरप्रदेशीय उडानलाई प्रदेश सरकार र संघीय सरकारले पनि विशेष सहुलियत दिनुपर्ने बुद्ध एयरले जनाएको छ। 
हाल बुद्धएयर दैनिक १२० भन्दा बढी उडान र ६ हजार ५०० बढी यात्रुलाई सेवा प्रदान गर्दै आएको छ। कम्पनी संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको जनाएको छ। कम्पनीले सुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका, जनशक्तिलाई तालिम, पीपीई प्रदान, बीमा र त्यसैअनुरुपको हवाईसेवा पछ्याइएको स्पष्ट पारेको छ।