– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजार सधैँ एउटा चक्रमा चलेको हुन्छ। जसअनुसार बजार कहिले बुलिस त कहिले बियरिस र कहिले साइडवेज चल्ने गर्छ।
संसारकै स्टक मार्केट, कमोडिटिज मार्केट, फरेक्स तथा क्रिप्टो मार्केट बुल, बियर र साइडवेजको चक्रमा चल्ने गर्छ।
बुलिस मार्केट वा बढ्दो बजार
बुलिस मार्केट भनेको बढ्दो बजारलाई बुझिन्छ। यसलाई साँढेको प्रतीकले संकेत गरिन्छ। सामान्यतया साँढेले हान्नुपर्यो भने टाउको तल लगेर सिङले माथि हान्ने प्रवृत्ति हुने हुनाले बुल मार्केटलाई साँढेको प्रतीकले संकेत गरिन्छ।
सबैभन्दा पहिले सेयर बजारमा बुलको प्रतीक अमेरिकाको न्युयोर्कमा एक फ्रान्सेली व्यापारीले वाल स्ट्रिट स्टक मार्केटअगाडि राखेको सुन्न र पढ्न पाइन्छ।
बुलिस मार्केट कसरी पत्ता लगाउने ?
सेयरमूल्य तथा बजार परिसूचकलाई ग्राफमा प्रस्तु गरेर यस्तो ट्रेन्ड पत्ता लगाउन सकिन्छ। यसलाई डाउ थेउरीअनुसार हायर हाई र हायर लो पनि भनिन्छ। अर्थात् उच्चतम र न्यूनतम विन्दु बनाउँदै तल–माथि गरेको सेयरमूल्य तथा परिसूचक जब अघिल्लो न्यूनतम विन्दुभन्दा पछिल्लो न्यूनतम विन्दु माथि तथा अघिल्लो उच्चतम विन्दुभन्दा पछिल्लो उच्च विन्दु माथि हुन्छ भने त्यसलाई बुलिस मार्केट भनिन्छ।
बियरिस मार्केट वा घट्दो बजार
सामान्यतया घट्दो बजारलाई बियरिस मार्केट भनिन्छ। यसलाई सेयर बजारमा भालुको प्रतीकले संकेत गरिन्छ। भालु सधैँ तल हेरेर हिँड्ने भएकोले यसलाई बियरिस मार्केट वा घट्दो बजार भनेर चिनिन्छ। तर, एक–दुई दिनमात्रै घटेको बजारलाई बियरिस मार्केट भन्न मिल्दैन।
ट्रेन्ड लाइनले देखाएको उतारचढावमा अघिल्लो न्यूनतम विन्दुभन्दा पछिल्लो न्यूनतम विन्दु तल तथा अघिल्लो उच्चतम विन्दुभन्दा पछिल्लो उच्चतम विन्दु तल बन्छ भने त्यसलाई बियर मार्केट भनेर बुझिन्छ।
साइडवेज मार्केट
माथिको प्रतिरोधलाई ब्रेक अप गर्न पनि नसकेको र तलको सपोर्टलाई पनि ब्रेक डाउन गर्न नसकेको बजारलाई साइडवेज मार्केट भनिन्छ। यस्तो अवस्थामा भोलुम तथा कारोबार दुवै फ्ल्याट हुने गर्छ।
नेपालको सेयर बजारको अहिलेको अवस्था कस्तो ?
विगत ६ महिनादेखि सेयर बजारले २००० हजारको विन्दु पनि ब्रेक अप गर्न सकेको छैन भने पछिल्लोपटकको न्यूनतम विन्दु १८०६ भन्दा तल जान पनि सकेको देखिँदैन। कारोबार र भोलुम पनि ड्राई र फ्ल्याट बन्दै गएको देखिन्छ। यस हिसाबले अहिलेको बजार बुल र बियरको चक्र पूरा गरेर साइडवेजमा चलेको देखिन्छ।
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago