– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा रौनक कायमै रह्यो। अघिल्लो साता ८ अंकले मात्र बढेको बजार यो साता १२३ अंकले उकालो लागेको छ। 

यो साता कारोबार पनि डबलले नै बढेको छ। अघिल्लो साता ९ अर्ब ६० करोड रुपैयाँमात्रै कारोबार भएकोमा यो २० अर्ब ७१ करोड रुपैयाँबराबरको कारोबार भएको छ। 

यो साता ६ दिनको कारोबार ५ दिन बजार बढ्यो भने १ दिन घट्यो। यो हिसाबले यो साता मौद्रिक नीतिपछि बजारमा रौनक छाएको देखिन्छ। आगमी साता पनि बजारको बढोत्तरीले निरन्तरता पाउन सक्ने जानकारहरु बताउँछन्। 

प्राविधिक पक्ष

डाउ थेउरी 

वाल स्ट्रिट पत्रिकाका तत्कालीन प्रधान सम्पादक चल्र्स डाउले सन् १८९६ मा प्रतिपादन गरेको डाउ थेउरी अहिले डेरिभेटिभ मार्केट, स्टक मार्केट र कमोडिटी मार्केटमा ट्रेन्डलाई आधार मानेर विश्व बजारमा सेयरको मूल्य तथा सूचकको विश्लेषण गरिन्छ। डाउ थेउरीअन्तर्गत मुख्यगरी बजारमा ३ वटा ट्रेन्ड हुन्छन्– अप ट्रेन्ड, डाउन ट्रेन्ड र साइडवेज मार्केट। 

यदि बजारले हायर हाई र हायर लोको अवस्था तय गर्छ भने त्यस्तो अवस्थामा बजार अप ट्रेन्डमा गएको, लोअर हाई र लोअर लोको अवस्था तय भएमा बियर मार्केट बन्दै गएको बुझिन्छ। यदि बजार अप ट्रेन्ड (पहिलेको उच्च विन्दु) पनि जान नसकेको र डाउन (पहिलेको न्यून) पनि जान नसकेको बजारलाई साइडवेज मार्केट भनेर बुझिन्छ।

नेपालमा अहिलेको बजारलाई डाउ थेउरीअन्तर्गत विश्लेषण गर्ने हो भने पछिल्लोपटक १८०६ लाई न्यून विन्दु बनाएको छ। जसलाई लोअर लो भएको मान्न सकिन्छ। 

त्यसैगरी बजारले पछिल्लोपटक २१५० को विन्दुलाई लोअर हाई बनाएको देखिन्छ। त्यहाँबाट झरेको बजारले पहिलेको लोभन्दा माथिबाटै फर्केर हायर लो बनाएको देखिन्छ। 

डाउ थेउरीलाई आधार मानेर भन्ने हो भने अहिलेको बजारले हायर हाई बनाउन अघिल्लो लोअर हाई २१५० लाई ब्रेक गरेर माथि जानुपर्ने हुन्छ। त्यसो भएको खण्डमा मात्रै अहिलेको बजारले अप ट्रेन्ड लिने भन्न सकिन्छ। यदि त्यहाँबाट माथि जान्छ भने बजारले दोस्रो प्रतिरोध २२५० आसपास र तेस्रो प्रतिरोध अघिल्लोपटकको  बलियो सपोर्ट २३७० मा हुने देखिन्छ। (हेर्नुहोस् मुख्य तस्बिरमा)

बोलिंगर, भोलुम, एमएसीडी र आरएसआई 

साप्ताहिक रुपमा यो साता बनेको बोलिंगर ब्यान्डको चार्टले मध्य ब्यान्डभन्दा तल लामो बुलिस मारुबुजु क्यान्डल बनाएको छ। यसले बढ्दो बजारलाई संकेत गर्छ(हेर्नुहोस् तस्बिरमा कालो एरो)। भोलुम पनि अघिल्लो साताको तुलनामा यो साता बढेको देखिन्छ। 

त्यसैगरी म्याक्डीमा यो साता बुलिस क्रसओभर हुँदै गरेको देखिन्छ। हिस्टोग्राम सकारात्मक भएको देखिन्छ। 

साप्ताहिक रुपमै आरएसआई २५ को न्यून विन्दुबाट ४२ मा पुगेको छ। अघिल्लोपटक यस्तो विन्दु ८९ सम्म पुगेपछि बजारमा करेक्सन आएको थियो। (हेर्नुहोस् सबै इन्डिकेटरमा कालो)

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– २१९२
प्रतिरोध २– २३३४
प्रतिरोध ३– २५३६

पिभट प्वइन्टः १९९९

घटेमा सपोर्ट 

सपोर्ट १– १८४४
सपोर्ट २– १६५२
सपोर्ट ३– १४९७

निष्कर्ष

म्रौद्रिक नीतिपछि सेयर बजारमा यो सातामात्रै १२३ अंकले बढोत्तरी आएको छ। प्राविधिक रुपमा साप्ताहिक चार्टमा म्याक्डीमा बुलिस क्रसओभर भएको देखिन्छ। यो साता भोलुम पनि बढेको देखिन्छ। 

डाउ थेउरीअन्तर्गत यो साता २१४० मा बन्द भएको बजार आगामी साता सहजै २१५० भन्दा पनि मााथि बन्द हुन सक्ने प्रबल सम्भावना देखिन्छ। यदि बजार यो विन्दुभन्दा माथि बन्द भएमा बजारले हायर हाईको यात्रा तय गरेको बुझिन्छ। यसले बजारमा थप ऊर्जा तय हुन गएर त्यसपछिको यात्रा अघिल्लोपटकको बलियो टेवा २३७० मा सामना गर्न सक्छ। योभन्दा पहिले बजारले २५० दोस्रो प्रतिरोध सामाना गर्न सक्छ। 

यो साता भोलुमसहितको बढोत्तरी आएका कारण आगामी साता पनि सेयर बजारमा बढोत्तरीले निरन्तरता पाउने सम्भावना अधिक देखिन्छ।

नोटः सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषणमात्र हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।