– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) जलविद्युत कम्पनीमा लगानी गर्ने उद्देश्यका साथ सन् २०११ को जुलाई ११ मा स्थापित कम्पनी हो। त्यसैले यो कम्पनीले जलविद्युत विकास र उत्पादनमात्र लगानी गर्छ। 

धितोपत्र बजारमा लगानी समूहमा रहेको यो कम्पनीले आफ्नो पुँजीको केही मात्रामा आफैँ लगानी गर्छ भने केही ऋण लगानी पनि गर्छ। कम्पनीको हाल करिव २२ अर्ब रुपैयाँ पुँजी हुने भए पनि ११७ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले बोन्ड तथा डिबेन्चरबाट पनि पुँजी संकलन गर्न सक्छ। कम्पनीले सबैभन्दा ठूलो जलविद्युतमा लगानी गर्ने कम्पनी बन्ने लक्ष्य राखेको छ।  

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको चुक्तापुँजी २१ अर्ब २७ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा १ अर्ब ९७ करोड रुपैयाँ छ। 

पहिलो त्रैमासमा कम्पनीले ३२ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २१ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस हिसाबले कम्पनीको नाफामा ५२.५५ प्रतिशतको बढोत्तरी भएको देखिन्छ। 

समीक्षा अवधिमा कम्पनीको रिटर्न अन इक्विटी ५.५९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यही अवधिमा रिटर्न अन इक्विटी ४.१९ प्रतिशत थियो। 

हालको कम्पनीको ईपीएस ६.११ रुपैयाँ र बुक भ्यालु १०९ रुपैयाँ रहेको छ। 

कम्पनीको विगत ५ वर्षको औसत वार्षिक लाभांश दर ८ प्रतिशत रहेको छ। कम्पनीले अघिल्लो वर्ष सतप्रतिशत हकप्रद जारी गरेको थियो। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा

इलिअट वेभमार्फत विश्लेषण गर्दा जहिले पनि दुई विकल्प अगाडि हुन्छन्। एउटा बलियो  विकल्पलाई  हामीले पाठकसामु इलिअट वेभको सिद्धान्तअनुसार ल्याउने गर्छौं। 

यो कम्पनीको पछिल्लोपटक १६० रुपैयाँमा आधार विन्दु बनाएको देखिन्छ। इलिअट वेभको माइनर डिग्रीमार्फत कम्पनीको आगामी ६ महिनाको प्रोजेक्सन गर्दा वेभ १ लगभग १६० रुपैयाँबाट बढोत्तरी आएर लगभग  १८५ रुपैयाँसम्म पुगेको देखिन्छ। वेभ २ मा करेक्सन भएर पुनः १६५ रुपैयाँमा आएको देखिन्छ। हालको बढोत्तरी वेभ ३ अनुसार २०० रुपैयाँसम्म र वेभ ४ मा करेक्सन भएर १९० रुपैयाँसम्म र वेभ ५ मा फेरि बढोत्तरीका साथ २२० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनीको सेयरमा हाल साप्ताहिक रुपमा ६० को जोनमा बुलिस सेन्टिमेन्ट देखिन्छ। कम्पनीको ५२ साताको उच्च मूल्य ३८५ रुपैयाँ रहेको छ भने न्यून मूल्य १६० रुपैयाँसम्म कारोबार भएको छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको सेयरको मूल्यरेखा हाल माथिल्लो ब्यान्डमा चलेको देखिन्छ। अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी भने घट्दै गएको देखिन्छ। यसले कम्पनीको सेयरमूल्यमा बढोत्तरी आउन सक्ने देखाउँछ। 

म्याक्डीमा केही समयपहिले बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। आरएसआई ३० को ओभर सोल्ड जोनबाट बढोत्तरीका साथ हाल ५२ मा पुगेको छ। यसले पनि कम्पनीको सेयरभाउ आगामी दिनमा बढ्ने सक्ने देखिन्छ। 

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– १८०
प्रतिरोध २– १९१
प्रतिरोध ३– १९८

पिभट प्वइन्टः १७२

घटेमा सपोर्ट 

सपोर्ट १– १६०
सपोर्ट २– १५३
सपोर्ट ३– १४१

निष्कर्ष

आधारभूत रुपमा यो कम्पनीलाई हेर्दा पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा ५२ प्रतिशतले बढोत्तरी भएको छ। रिटर्न अन इक्विटी पनि अघिल्लो वर्षको तुलनामा ३३.५२ प्रतिशतले बढेको छ। 

प्राविधिक रुपमा यो कम्पनीको सेयरमा फियर एन्ड ग्रिडमा बुलिस सेन्टिमेन्ट देखिन्छ भने आरएसआई ओभर सोल्ड जोन ३० बाट बढेर हाल ५२ मा पुगेको देखिन्छ। इलिअट वेभमार्फत हेर्दा यो कम्पनीको सेयरमा यदि अहिलेकै १ देखि ५ सम्मको प्याट्रन चल्छ भने अबको केही समयमै २२० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। 

नोटः सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।