– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमा अरुण काबेली पावर लिमिटेड पनि एउटा हो। अरुण काबेली ‘अरुण हाइड्रोपावर जलविद्युत कम्पनी’को सहायक कम्पनी पनि हो। यो कम्पनीमा अरुण हाइड्रोपावरको ३६ प्रतिशत लगानी रहेको छ। 

अरुण काबेली पावरले पाँचथर र ताप्लेजुङ जिल्लाबीच रहेको काबेली खोलामा रन अफ द रिभरमा आधारित काबेली–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यो आयोजनाको क्षमता २५ मेगावट रहेको छ। 

अरुण काबेली पावरले सुदूपश्चिम प्रदेशमा ६० मेगावाटको सुर्तियाघाट जलशाययुक्त परियोजना निर्माणको परिकल्पना गरिरहेको छ। त्यसैगरी यो कम्पनीले काबेली परियोजनाअन्तर्गत नै बुटवलपावरले निर्माणाधीन ३७.६ मेगावटको परियोजनामा पनि साझेदारी गरेको छ। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा ३० करोड ८० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले ९  करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस्तो मुनाफा अघिल्लो वर्षको सोही अवधिमा भने १३ करोड ५३ लाख रुपैयाँबराबर थियो। 

समीक्षा अवधिमा कम्पनीको ईपीएस २१.०१ रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको ईपीएस ३४.१५ रुपियाँ थियो। यो त्रैमासमा प्रतिसेयर नेटवर्थ ११६.६१ रुपैयाँ र पीई रेसियो १९.६६ गुणा रहेको छ। यो पीई रेसियो भनेको बफेट सिद्धान्तअनुसार पनि यो कम्पनीको सेयर अन्डर भ्यालुमा रहेको छ भन्ने हो। 

कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा १७.८९ प्रतिशत र आर्थिक वर्ष २०७८–७९ १०.५२ प्रतिशत लाभांश दिएको छ। हाल दोस्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४१५ रुपैयाँ रहेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटर 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी बुलिस सेन्टिमेन्टमा रहेको छ। यो कम्पनीको ५२ सातामा उच्च मूल्य ६०१ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३२७ रुपैयाँ रहेको छ। दोस्रो बजारमा यो कम्पनी हाल ४१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

इचिमोकुका आधारमा

इचिमोकुका आधारमा यो कम्पनीलाई हेर्दा अघिल्लो महिनाको २७ डिसेम्बरमा कन्भर्जन लाइनले बेस लाइनलाईलाई तलबाट काटेर बुलिस बनेको थियो। तर, आज यसविपरीत कन्भर्जन लाइनलाई बेसलाइनले माथिबाट काटेको छ । मूल्यरेखाहरु पनि क्लाउड पोजिसनभित्र पसेका छन्। यसले अल्पकालमा यो कम्पनीमा बिक्रीचाप परेको देखिन्छ।

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा

बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको सेयर हाल मध्य ब्यान्डभन्दा तल तल कारोबार भएको छ। यसले केही समय यो कम्पनीको सेयर तल्लो ब्यान्डतर्फ आकर्षित हुन सक्ने देखिन्छ। म्याक्डीमार्फत हेर्दा गत १० जनवरीमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ नै रहेका छन्। हाल आरएसआई न्युट्रल जोन ४४ को तहमा रहेको छ। समग्रमा तीनवटै सूचक हेर्दा यस कम्पनीको कारोबारमा केही समय बिक्री दबाब पर्न सक्ने देखिन्छ। 

पिभट विश्लेषण (ओओरली बेसमा)का आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ४४०
  • प्रतिरोध २– ४६०
  • प्रतिरोध ३– ४८०

पिभट प्वइन्ट :  ४२०

घटेमा सपोर्ट 

  • सपोर्ट १– ४००
  • सपोर्ट २– ३८०
  • सपोर्ट ३– ३६०

निष्कर्ष

आधरभूत रुपमा राम्रै रहेको अरुण काबेलीको ईपीएस २१ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको ईपीएस र खुद  नाफामा भने केही गिरावट आएको छ। कम्पनीले अन्य प्रोजेक्टहरुमा पनि लगानी गरेका कारण निकट भविष्यमा उत्तम नै रहेको देखिन्छ। 

प्राविधिक रुपमा फियर एन्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्ट रहेको यस कम्पनी दीर्घकालका लागि उत्तम नै छ। तर, अल्पकालमा भने यो कम्पनीको सेयरभाउमा सामान्य करेक्सन आउन सक्छ। हाल दोस्रो बजारमा ४१३ रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको सेयरभाउ आगामी दिनमा बढेमा पिभट् प्वइन्टका आधारमा ४८० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।