काठमाण्डौ । लिज ट्रसले बेलायतको प्रधानमन्त्री पद सम्हालेको ६ हप्तामै राजीनामा दिएकी छन्। 

सरकारले ल्याएको आर्थिक नीतिले अर्थतन्त्र डामाडोल भएको भन्दै तीव्र आलोचना भएपछि ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी हुन्। उनले बिहीबार साँझ प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। 

सरकारले ल्याएका नीतिहरुको आलोचनालाई साम्य पार्न एक साताअघि ट्रसले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन्। तर प्रधानमन्त्रीका कदमको विरोधमा उत्रिएका गृहमन्त्री सुइल्ला ब्रेभम्यानले नाटकीय ढंगले राजीनामा दिएपछि ट्रसले पद छाड्ने घोषणा गरेकी हुन्।  

ट्रस बेलायतकी दोस्रो महिला प्रधानमन्त्री थिइन्। उनी नै सबैभन्दा कम समय प्रधानमन्त्री सम्हाल्नेमा परेकी छन्। 

बोरिस जोन्सनले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ट्रस प्रधानमन्त्री बनेकी थिइन्। उनले ऋषि सुनकलाई हराएर कन्जरभेटिभ पार्टीकी नेता बन्दै प्रधानमन्त्री चयन भएकी थिइन्। 

समाचार संस्था रोयटर्सका अनुसार अब अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रुपमा काम गर्ने छिन्। बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब सोही पार्टीबाट चुनिने नेता नयाँ प्रधानमन्त्री बन्ने छन्। –एजेन्सी