काठमाण्डौ । बेलायतमा यही फेब्रुअरी १५ सम्म अन्य मुलुकबाट गरिने यात्रा प्रतिबन्ध लगाइएको छ। 

यस्तो प्रतिबन्ध जलमार्ग, हवाईमार्ग र स्थलमार्ग हुने यात्रामा कायम हुनेछ। यद्यपि बेलायत सरकारले कोभिड–१९ को ७२ घन्टाको नेगेटिभ प्रमाण हुने आफ्ना नागकिलाई भने देशमा प्रवेश अनुमति दिनेछ। उक्त प्रमाण नभएमा ५०० पाउन्डसम्मको जरिवाना हुने र १० दिनसम्मको क्वारेन्टिनमा बस्न पर्नेछ। यदि नेगेटिभ परिणम आए यो बसाइ छोटिन पनि सक्ने बेलायती अधिकारीहरुले जनाएका छन्। 

नयाँ नियमअन्तर्गत फल्कल्यान्ड टापु, सेन्ट हेलेन र असेन्सन आइसल्यान्डबाट आउनेलाई भने छुट दिइएको छ। त्यसैगरी क्यारेबियन टापुबाट आउनेलाई भने जनवरी २१ सम्म बेलायत प्रवेश गर्न पाउनेछन्। 

बीबीसीसँगको कुराकानीमा बेलायतका विदेशमन्त्री डोमिनिक राबले आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य परीक्षण बढाउनुपर्ने बताएका छन्। 

यसैबीच यातायात विभागले यात्रा प्रतिबन्ध आवश्यक भए पनि आर्थिकमन्दी हुनसक्ने चेतावनी दिएको छ। विभागले स्वास्थ्य सुरक्षामा सुधार आउनेबित्तिकै प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा सार्वजनिक गरेको छ। 

हिजो आइतबारमात्रै बेलायतमा ६७१ जनाले कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन्। हालसम्म बेलायतमा यो भाइरसले ८८ हजार ५९० जनाको ज्यान लिइसकेको छ। – एजेन्सी