– अर्जुन तिमिल्सिना
काठमाण्डौ । बजार घटेको बेला धेरैलाई अनौठो र अपत्यारिलो लाग्न सक्छ– सेयर बजारमा धैर्यताको फल कति मिठो हुन्छ ? भन्ने विषय। हामी ब्रोकर हाउसमा धेरै लगानीकर्तामाझ बस्दा यस्ता धेरै सेयर बजारसम्बन्धी तीतामीठा अनुभव सुन्न र जान्न पाउँछौँ।
सेयर बजारमा भेटिएका केही लगानीकर्ताको अनुभव र विचार अन्य धेरै लगानीकर्ताका लागि शिक्षा पनि हुन सक्छ। सेयर बजारमा एउटा गुन्जायस पनि के पनि पाइन्छ भने यो बजारमा धेरै सफल हुने भनेका वित्तीय क्षेत्रमा आबद्ध लगानीकर्ता नै हुन्। किनकि उनीहरुसँग अन्यभन्दा वित्तीय र बजारसम्बन्धी धेरै ज्ञान हुने गर्छ।
बजारमा हिँड्दाडुल्दा आज हामीले नेपाल बैंकमा ३० वर्षभन्दा लामो समय कार्यानुभव बोकेका र सेयर बजारमा पनि त्यति नै बराबर अनुभव बटुलेका एक लगानीकर्ता हीरालाल नेपालसँग साक्षात्कार गर्ने मौका पायौँ। उनको अनुभव पनि हाम्रा पाठकलाई एउटा शिक्षा हुन सक्ने आँकलन गरेर यहाँ प्रस्तुत गरेका छौँ।
नेपालको पुख्र्यौली घर सिन्धुपाल्चोक हो। हाल उनी काठमाण्डौको कपनका स्थायी बासिन्दा हुन्। रिटायर्ड जीवनपछि पनि नेपाल विगत ११ वर्षदेखि सक्रिय रुपमा सेयर बजारमा लागेका छन्।
सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) मा भेटिएका नेपालले प्राथमिक सेयर (आईपीओ) कुन–कुन भरे भन्ने याद त गर्न सकेनन्। ‘तर त्योबेला आईपीओ भर्दा न्यूनतम ५० कित्ता सेयर पाइन्थ्यो’, उनले भने।
आफ्नो परिवारका सबै सदस्यको नाममा सेयर भरेर राम्रै आम्दानी गरेको नेपाल सम्झिन्छन्। ‘बैंकमा मेरो सुरुको तलब जम्मा ३५० रुपैयाँ थियो’, उनले भने, ‘त्यति तलबले परिवार र छोराछोरी पाल्न कठिन नै थियो। त्योबेला भाडामा बस्थेँ। अहिले सेयर र रिटायर्ड फन्डबाट राम्रै घर बनाएको छु।’
करिब १२ वर्षअगाडि नेपालले छोरालाई लन्डन र अस्ट्रेलिया पढ्न पठाउँदामात्रै १४ लाख रुपैयाँको आईपीओमा परेका सेयर बेचेका रहेछन्। अहिले पनि उनीसँगै थुप्रै कम्पनीका प्राथमिक सेयर बाँकी नै छ। ‘सबै सेयर अहिलेसम्म राखेको भए एक-डेढ करोड रुपैयाँ हुने थियो’, उनले सम्झिँदै भने, ‘मैले त्योबेलामा पनि सेयर निकै सस्तोमा बेचेको थिएँ। अरुसँग ब्याज लिनुभन्दा मैले सेयर नै बेचेँ।’
दोस्रो बजारमा पनि बाटुले घरमा म्यानुअल कारोबार गरेको सम्झँदै नेपालले भने, ‘दोस्रो बजारमा पनि चल्न जाने फाइदै हुन्छ।’
नेपालको विचारमा सेयर बजारमा दुई चिज हुनुपर्छ। ‘यसमा कि धेरै अनुभव हुनेले थोरै पैसा भए पनि उसले राम्रै कमाउन सक्छ’, नेपालले भने, ‘या त आफ्नै राम्रै पैसा हुनेले लामो समय होल्ड गर्न सक्नेले पनि राम्रै कमाउने गर्छ।’
गएको बुलमा आफूले मात्रै होइन उनको एकजना साथीले पनि दोस्रो बाजारबाट डेढ महिनामै १ करोड रुपैयाँभन्दा बढी कमाएको बताए। ‘कारोबार गर्दा कहिलेकाहीँ नोक्सन पनि हुन्छ’, उनले भने, ‘नोक्सान भए पनि धैर्य गर्न सक्नेले एकपटक अवश्य कमाउँछ।’
2 minutes ago
12 minutes ago
23 minutes ago
38 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago