काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरु दक्षिण एशियाकै बलियो र राम्रो अवस्थामा रहेका दाबी गरेका छन् । 

हिजो(सोमबार) बैंकका सीइओहरुबाट बैंकिङमा देखिएका समस्याहरु सुनेपछि आफ्नो कुरा राख्ने क्रममा गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन् । 

‘बजारमा भनिएजस्तो नेपालका बैंकहरुको अवस्था खराब छैन । हामी सबै समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्दै जानेछौं ।’ गभर्नरलाई उद्धृत गर्दै एक बैंकरले भने–‘तपाईहरु आत्तिनुभएन । राम्रो गर्दै जानुहोस्, अहिले देखिएको सामान्य समस्याहरु निकट भविष्यमै ठीक भएर जान्छ ।’ 

निकै सकारात्मक रुपमा प्रस्तुत भएका गभर्नर अधिकारीले कतिपयले हल्ला गरेजस्तो नेपालमा ‘बैंक रन’को अवस्था नआउने समेत दाबी गरे । ‘हाम्रो अवस्था त्यत्ति विकराल छैन ।’ उनले थपे–‘हामी हाम्रो रिजनमा वन अफ दि बेस्ट अवस्थामा छौं । भारतमा समेत समस्या आइरहेको बेला हाम्रा बैंकहरु सुरक्षित र सहज अवस्थामा छन् ।’ 

उनले बैंकका सीइओहरुलाई हल्लाको पछि दौडेर प्यानिक नहुन र आत्मविश्वाससहित काम गर्न निर्देशन समेत दिएका थिए । ‘काम गर्ने क्रममा कुनै समस्या आइलाग्यो भने हामी हेर्छौं ।’–उनले थपे  । उनले बैंकिङ समस्याग्रस्त छ भनेर बाहिर चलेको गलत हल्ला चिरेर अगाडि बढ्न पनि निर्देशन दिए । 

अर्का एक बैंकरका अनुसार गभर्नरले सम्बोधनका क्रममा जानाजान लोन तिर्न नखोज्नेप्रति निर्मम बन्न र अन्य ऋणिको हकमा नरम बनेर अगाडि बढ्नुपर्ने संकेत समेत गरेका थिए । 

सो क्रममा अधिकारीले अहिलेको अवस्थाबाट पार पाउन केन्द्रीय बैंकले कुनै नीतिगत लचकता अपनाउने प्रष्ट कुरा गरेनन् । ब्याजदरको विषयमा समेत उनले केही बोलेनन् । ‘तर राष्ट्रबैंकका अधिकारीहरुको कुरा सुन्दा केही नीतिगत छुट गरेर भए पनि अहिलेको अवस्था केही सहज बन्नसक्ने संकेत पाएका छौं ।’ छलफलमा सहभागी ती बैंकरले भने–‘राष्ट्रबैंक धेरै सहज भए हामी(बैंकर) बिग्रिन्छौं । हामीबाट फट्याईं हुन्छ । त्यसकारण धेरै सहज चाहिँ बन्नुहुँदैन ।’ 

गभर्नर अधिकारीले बैंकिङको खास समस्याको पहिचान भइसकेको उल्लेख गर्दै त्यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने र त्यसका लागि सहजीकरण गर्न राष्ट्रबैंक तयार रहेको सन्देश समेत दिएका थिए । 

पालैपालो बोलेका बैंकका सीइओहरुले व्यापार/व्यवसाय ठप्प बनेको, उपभोक्ताको क्रयशक्ति घटेको, व्यापार नहुँदा ऋण लिएर व्यवसाय गर्ने टाट पल्टिने अवस्थामा पुगेका र यसले डिफल्टरहरु बढाउने काम गरेको बताएका थिए । आर्थिक गतिविधि नै सुस्त हुँदा अवस्था विकराल बन्दै गएको र यस्तो बेला राष्ट्रबैंकले अर्थतन्त्र चलायमान हुने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । 

कतिपय बैंकरले खराब कर्जा व्यवस्थापनमा समेत सकस भइरहेको बताएका थिए । ‘घरजग्गा धितो राखेर लोन प्रवाह भएको छ । धितोमा रहेको घरजग्गा कसले किन्ने ? यस्तो अवस्थामा बैंक आफैंले म्यानेज गरेर जानुपर्ने अवस्था रहेको छ ।’-एक सीइओले भनेका थिए । 

बैंकरहरुले ब्याजदर घटाउनका लागि आवश्यक सहजीकरण गरिदिन समेत राष्ट्रबैंकलाई आग्रह गरेका थिए । ‘अहिलेकै चर्को ब्याजदरले इकोनोमी गतिविधि पनि बढ्दैन र व्यापार व्यवसाय पनि सस्टेन हुँदैन ।’ एक बैंकरले भनेका थिए–‘ऋणको ब्याजदर सिंगल डिजीटमा ल्याउनुको विकल्प छैन । कसरी हुन्छ ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउनुपर्छ । सबैलाई बचाउने हो भने ब्याजदर घटाइनुपर्छ । उद्योग व्यवसायलाई मारेर देश अगाडि बढ्न सक्दैन, अर्थतन्त्रमा सुधार हुँदैन ।’ 

कतिपय बैंकरले पूँजीकोष अनुपात लगायतका कतिपय नियामकीय व्यवस्थाका कारण थप कर्जा प्रवाह गर्नसक्ने अवस्थामा नरहेको भन्दै त्यसमा समेत नरम नीति लिइनुपर्नेमा जोड दिएका थिए । ‘राष्ट्रबैंकले क्रेडिट फ्लो बढ्ने गरी नीतिगत सहजीकरण गरिदिनुपर्छ ।’ बैंकरहरुले भनेका थिए–‘त्यसो भयो भने अहिलेको समस्या बिस्तारै कम हुँदै जान्छ ।’ 

याक एण्ड यति होटलमा भएको छलफलको सुरुवातमा डेपुटी गभर्नर वमबहादुर मिश्रले बोलेका थिए । उनले छलफल डाक्नुको उद्देश्य, अहिलेको बैंकिङ सेक्टरको अवस्था लगायतका विषयमा बोलेका थिए। 

त्यसपछि बैंकका सीइओहरुलाई बोल्न दिइएको थियो । छलफल करिब साढे ४ घण्टा चलेको थियो । सबै बैंकका सीइओहरुको कुरा ध्यानपूर्वक सुनेपछि गभर्नरले सम्बोधन गरेका थिए ।