काठमाण्डौ । नक्कली लालपुर्जा बनाएर गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गा धितो राखेर १९ करोड रुपैयाँ निकालेर ठगी गरेको खुलासा भएको छ। यो ठगी प्रकरणमा संलग्न रहेको आरोपमा कुमारी बैंकका कर्मचारीसहित ४ जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र यशकुमार महर्जनलाई पक्राउ गरेको हो। ठाकुर, गौतम र महर्जनलाई प्रहरीले केही दिनअघि नै पक्राउ गरेको थियो। चौरसिया भने मंगलबार पक्राउ परेका हुन्।
सीबीआईका अनुसार गायक योगेश्वर अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा बनाएर उनीहरुले कुमारी बैंकबाट १९ करोड निकालेर ठगी गरेको पुष्टि भएको छ। गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा उक्त जग्गा धितो राखी कुमारी बैंकबाट ऋण लिएको खुलेको छ। बिरुवा भूमि वनकाली योगेश्वर अमात्य र उनकी पत्नी सञ्चालक रहेको कम्पनी हो।
कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपुर्जा धितो राखेर कुमारी बैंकको न्युरोड शाखाबाट रकम निकालेको सीबीआईको अनुसन्धानबाट खुलेको छ।
आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालिएको थाहा पाएपछि गायक अमात्यले एक महिनाअघि नै सीबीआईमा उजुरी दिएका थिए। अमात्यको उजुरीकै आधारमा सीबीआईले अनुसन्धान सुरु गरेको र यो ठगी प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको हो।
घटना विवरणअनुसार जग्गाको नक्कली पुर्जासहितको डकुमेन्ट बनाएर सुरुमा ऋणका लागि कुमारी बैंकको पर्सा शाखामा पेस गरिएको थियो। त्यसपछि पर्सा शाखाले उक्त फाइल न्युरोड शाखामा पठाएको थियो। न्युरोड शाखाले पनि स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरेको थियो। सोही आधारमा केन्द्रीय बैंकले अनुमति दिएपछि न्युरोड शाखाबाट रकम निकालिएको पाइएको सीबीआईले जनाएको छ।
यो ठगी प्रकरणमा कुमारी बैंकको पर्सा शाखा, न्युरोड शाखा र केन्द्रीय कार्यालयका कर्मचारीको मिलेमतो र संलग्नता छ–छैन भन्ने विषयमा सीबीआईले अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरुविरुद्ध भने सरकारी कागजपत्र किर्ते गरेको कसुरमा थप अनुसन्धान र बयान लिने काम भइरहेको सीबीआईले जनाएको छ।
7 minutes ago
18 minutes ago
27 minutes ago
44 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago