– भक्तराज रसाइली

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरालाई ‘विवादित विषय’ भनेर प्रतिक्रिया दिएको छ। 

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बिजशालासँग कुराकानी गर्दै बैंकलाई ब्रोकर लाइसेन्स ‘विवादित विषय’ भएको र यो प्रक्रियामै रहेको छोटो प्रतिक्रिया दिए। ‘यो विषयमा अहिले केही भन्न मिल्दैन’, उनले भने, ‘काम भएपछि कुरा गरौँला।’ 

ढुंगानाले पछिल्लो समय बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा पुनर्विचार हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। उनले ब्रोकरको दायरा र क्षेत्राधिकार बढाइनुपर्ने धारणा पनि राख्दै आएका छन्। 

अर्थ समितिले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन उचित हुने प्रतिवेदन धितोपत्र बोर्डलाई दिएको थियो। यसको कार्यान्वयनमा बोर्ड अध्यक्ष ढुंगानाले सक्रियता नदेखाउँदा स्टक ब्रोकरहरु यो व्यवसायमा प्रतिस्पर्धी नआउने पक्कापक्की भएको भन्दै खुसी हुन थालेका छन्। 

धितोपत्र बोर्डका एक उच्च अधिकारीले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयको टुंगो अध्यक्ष ढुंगानाले चाहेको खण्डमा एक दिनमै लाग्ने दाबी गरे। ‘यो प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयको आदेश कुनुपर्ने आवश्यकता म देख्दिनँ’, ती अधिकारीले भने, ‘यो अध्यक्ष ढुंगाना स्वयंको क्षेत्राधिकारभित्र पर्छ। अर्थ मन्त्रालयमा निर्भर हुनै पर्दैन।’ 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता मुराहरि पराजुलीले यो विषयमा नेप्सेले कुनै तयारी गर्नु नपर्ने उल्लेख गरे। ‘नियामक धितोपत्र बोर्डको निर्देशन आउने बित्तिकै स्थगित प्रक्रिया पुनः सुरु हुन्छ’, उनले भने। 

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन उचित हुने ठहर गर्दै अर्थ समितिले गत साउन ४ गते नै बोर्डसमक्ष प्रतिवेदन पठाएको थियो। प्रतिवेदनमा ११ बुँदे प्रश्नलाई सम्बोधन भए बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन उचित रहेको उल्लेख छ।