काठमाण्डौ । देशभर राजनीतिक आन्दोलनको माहौल तातिरहेकै बेला अब पुँजी बजारको सुधारका लागि आन्दोलन सुरु हुने भएको छ।

वि.सं. २०७६ असार मसान्तसम्म कार्यान्वयन गर्नुपर्ने अर्थ मन्त्रालयद्वारा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. शिवराज श्रेष्ठको नेतृत्वमा गठित समितिले मुद्रा तथा पुँजी बजार सुधारका निम्ति सुझाएका ५८ बुँदे सुझावमध्ये १५ बुँदाभन्दा बढी सुझाव कार्यान्वयन बाँकी भएकाले पुँजी बजार विकास अभियानले आमरण अनसन सुरु गर्ने भएको हो। आगामी फागुन १ गतेदेखि पुँजी बजार विकास अभियानकर्ताहरु नेपाल धितोपत्र बोर्डको कार्यालयमा आमरण अनसन बस्ने भएका छन्। 

अभियानका संयोजकमा तिलक कोइराला छन्। उनी २ वर्षअघि पनि पुँजी बजार सुधारका लागि दबाब सिर्जना गर्न आमरण अनसन बसेका थिए। तत्कालीन समयमा नेप्से ११०० विन्दु हुँदा बजार घटेर सम्पत्ति सखाप भई सडकमै आएका कारण आमरण अनसन बसेको भन्दै चौतर्फी आलोचित बनेका कोइराला नेप्से सूचक दोब्बर हुँदा पुँजी बजारप्रति चिन्तित भई थप सशक्त आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताउँछन्। ‘पुँजी बजारको विकासका लागि सुझाइएका सुझावमध्ये १५ वटाभन्दा बढी बुँदाहरु अझै कार्यान्वयन नभएका कारण मेरो नेतृत्वमा ३ जना आमरण अनसन बस्न निर्णय गरेका छौँ’, कोइरालाले बिजशालासँग भने, ‘ती सुझावमा अर्थमन्त्री विष्णु पौडेल जबाफदेही देखिएनन्, उनको हविगत पनि पहिलेका अर्थमन्त्री युवराज खतिवडाकै जस्तो नहोस् भन्ने हाम्रो धारणा हो। अहिले बजार पौडेलका कारणले नभई तरलताका कारणले बढेको हो तर जश उनले लिइरहेका छन्।’ 

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स, प्रादेशिक ब्रोकरको अवधारणा, नेप्से तथा धितोपत्र बोर्डको पुनर्संरचना, मार्जिन ट्रेडिङ, ब्रोकर कमिसन माथिल्लो विन्दु कायम गरी ब्रोकरवाइज सर्भिसअनुसार ब्रोकर कमिसन कायम हुनुपर्नेलगायतका १५ भन्दा बढी बुँदाहरु तत्काल कार्यान्वयन गर्न अर्थमन्त्री पौडेललाई सुझाइएको कोइरालाले बताए। ‘यदि कार्यान्वयन भएन भने आन्दोलन गर्न बाध्य हुनेछौँ’, उनले भने। 

बढ्दो बजारमा जोखिम पनि बढ्दै जान्छ र जोखिम व्यवस्थापनका लागि सँगसँगै बजार विकास र सुधारका पहलकदमीहरु पनि हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको कोइरालाले बताए। ‘बजार विकास हुनलाई धेरैभन्दा धेरै संस्थागत लगानीकर्तालाई सेयर बजारमा आउने वातावरण पनि सिर्जना गर्नुपर्छ अनिमात्रै बजार दिगो र स्थायी हुन्छ’, उनले भने। 

आमलगानीकर्ता तथा सरोकारवालाको विषयमै आफूहरुले आमरण अनसन बस्ने भएकाले सबैलाई एकताबद्ध भइदिन र आन्दोलनमा साथ दिन कोइरालाले आग्रह गरेका छन्। 

त्यसो त कोइरालाले केही महिनाअघि पनि यही विषयलाई लिएर आन्दोलनको घोषणा गरे पनि पछि स्थगित गरेका थिए।