-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र कारोबार व्यवसायी (ब्रोकर लाइसेन्स)का लागि छिट्टै नेपाल धितोपत्र बोर्डलाई मोडालिटी दिन लागेको छ । 

नेप्सेमा ४ वटा वाणिज्य बैंकहरु सिटिजन्स बैंक ,प्रभु बैंक ,एन आइसी एसिया र सानिमा बैंकका सहायक कम्पनीहरुले ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरिसकेका छन् । 

मंगलबार बोर्डले आयोजना गरेको आव २०७६/७७ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा नेप्सेका प्रमुख चन्द्रसिंह साउदेल सरोकारवाला पक्षसँग बसेर आवश्यक समन्वय गरिदिन धितोपत्र बोर्डलाई अनुरोध गरे । 

स्टक डिलरका लागि आवश्यक मोडालिटी तयार गरिसकेकोले बोर्डलाई केही समयमै दिइने उद्घोष गरे । सेयर बजारमा सरकारले १ अर्ब चुक्तापूँजी भएका रियल सेक्टरलाई प्रवेश गराउँदा अव्यवहारिक भएकाले सो सीमा ५० करोडमा झार्नुपर्ने बताए । 

सो क्रममा आर्थिक चलायमान गर्ने संस्था धितोपत्र बोर्ड नै भएकोले पूँजीबजारसँग सम्बन्धित आर्थिक नीतिहरु स्थायी हुनुपर्ने र वस्तुविनिमय एक्सचेञ्जले दुर्गम भेगका सर्वसाधारणले समेत लाभान्वित हुने गरी आवश्यक व्यवस्था मिलाउन विज्ञहरुले सुझाए । 

इन्साइडर ट्रेडिङ रोक्न बोर्ड, नेप्से, दलाल व्यवसायी र संचालक समितिको ठूलो नेक्सस भएकाले उपयुक्त अटोमेटिक  प्रविधि इन्ट्रीगेट गरेर रोक्नुपर्ने सुझाव समेत सो क्रममा दिइएको थियो । 

सेयर बजारका लेखक दीलिप मुनकर्मीले सेयर बजार सूचनाको व्यापार भएको उल्लेख गर्दै बोर्डले सूचीकृत कम्पनीहरुका सूचना पर्याप्त ,शुद्ध र समान पहुँच हुने गरी प्रवाहित हुनुपर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिए । 

नेप्सेमा सूचीकृत कम्पनीहरुलाई हौसला प्रदान गर्न पुरस्कार र सामाजिक उत्तरदायित्व दिवसकै रुपमा मनाउने परिपाटी बसाउन आवश्यक रहेको उनको भनाई थियो । 

नागरिक लगानी कोषका रोशनजङ कार्कीले दीर्घकालीन (१५–२०वर्ष) बोण्ड, डिबेन्चरमार्फत ठूला फण्ड सम्हालेका लगानी कोष, सञ्चय कोष ,नेपाल टेलिकम लगायत संगठनले ठूला आयोजनामा लगानी गर्ने वातावरण तयार गरिनुपर्ने जिकिर गर्दै दोश्रो बजारमा सहज कारोबार हुने वातावरण मिलाउन बोर्डसमक्ष माग गरे । 

कोषजस्ता ठूला संस्थाहरुलाई सेयर बजारमा स्टक डिलरका रुपमा भित्र्याउन चुक्तापूँजीका विषयमा अलमलिएको दाबी समेत गरे । 

कार्यक्रममा सेयर  लगानीकर्ता संघसंगठनका प्रतिनिधिहरुले लिखित तथा मौखिक सुझाव प्रस्तुत गरे । 

सुझाव संकलन कार्यक्रममा बोल्दै बोर्डका नवराज अधिकारीले गत वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै गत वर्षकै  नीति तथा कार्यक्रममा परेका लगानीकर्ता प्रशिक्षण प्रतिष्ठानको व्यवस्था गरिने र बोर्डले प्रादेशिक कार्यालय खोल्न गइरहेको जानकारी दिए ।

बोर्डका अध्यक्ष डाक्टर रेवतबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै उनले तेस्रो नीति तथा कार्यक्रममा ठोस सुझाव संकलन गर्ने उद्देश्य रहेको स्पष्ट पारे । असारभित्रै बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गरिने योजना रहेको उनले खुलासा गरे । 

कार्यक्रममा अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक,नेप्से, सिडिएससी, बीमा समिती, नागरिक लगानी कोष, मर्चेन्ट बैंकर, इक्रा रेटिङ एजेन्सी, ब्रोकर कम्पनी, मिडिया लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।