-भक्तराज रसाइली
काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स वितरणमा तीव्र चलखेल भइरहेको र यसमा नेप्सेको भूमिका ‘रहस्यमयी’ तथा ‘शंकास्पद’ देखिएको भन्दै यो मुद्धालाई छायाँमा पार्न खोजिए सशक्त प्रतिवाद गर्ने लगानीकर्ता संघसंगठनका नेताहरुले चेतावनी दिएका छन् । 

बिजशालासँग कुरा गर्दै लगानीकर्ताका नेताहरुले ब्रोकरहरुले संस्थागत रुपमै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरण गर्न नहुने भन्दै आपत्तिजनक अभिव्यक्ति दिइरहेका र उनीहरुले व्यक्त गरेका नीतिगत व्यवस्थाविरुद्धका अभिव्यक्तिमा नेप्से र धितोपत्र बोर्डले लगाम नलगाएको भन्दै ब्रोकर लाइसेन्स वितरणमा भइरहेको खेलको भण्डाफोर गर्ने चेतावनी समेत दिए ।

उनीहरुले नेप्सेको संचालक समितिलाई आफ्नो बशमा पारेर बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने विषयलाई अन्तै मोड्न खोजिए त्यसले गम्भीर दुष्परिणाम निम्त्याउने चेतावनी समेत दिएका छन् ।  

लगानीकर्ता संगठनका एक पूर्व नेताले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरणमा अदृश्य खेल भइरहेको दाबी गर्दैं बिजशालासँग भने–‘राष्ट्रबैंकका २ जना अधिकारीहरु नै नेप्सेको सञ्चालक समितिमा हुँदाहुँदै पनि लाइसेन्स वितरणको कामले गति लिन नसक्नु वा यो विषयमा ओझेलमा पारिनु नै आश्चर्यलाग्दो छ । राष्ट्रबैंकका अधिकारीहरु नै नेप्सेको सञ्चालक हुने भएकाले राष्ट्रबैंकले स्वीकृति दिएको भोलिपल्टै समितिको बैठकद्वारा बैंकलाई ब्रोकर लाइसेन्स खुला गरिनुपर्ने हो । तर, यहाँ ‘साँढेको जुधाई बाच्छाको मिचाई’ पो भएको हो कि भन्ने आशंका छ ।’

नेपाल इन्भेष्टर्स फोरमका नवनियुक्त अध्यक्ष छोटेलाल रौनियारकाअनुसार नेप्सेका सीइओ चन्द्रसिंह साउदले नै ‘नेपाल राष्ट्रबैंकबाट अनुमति पाएको ५ मिनेटमै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन्छौं’ भन्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेको भन्दै यो विषय नबिर्सन आग्रह गरे । 

राष्ट्रबैंकले अनुमति दिइसक्दा समेत नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा किन विलम्ब गरिरहेको छ, यो विषयको सम्पूर्ण जिम्मेवारी साउदले लिनुपर्ने उनको भनाई छ । 

हात्ती छिरिसकेको अवस्थामा पुच्छर अड्काउने प्रवृत्ति नेप्सेले देखाइरहेको दाबी गर्दै रौनियारले केही दिनमै यो विषयमा नेप्सेमै पुगेर जवाफ मागिने जानकारी दिए । आफूहरुको धेरै संघर्षपछि बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरणको नीतिगत व्यवस्था भएको दाबी गर्दै उनले भने–‘सिआस्वा जस्तै बैंकका करिब २८ सय शाखाबाट ब्रोकरेज सेवा पाउने स्वर्णिम अवसर हो । यति राम्रो अवसरलाई विषयान्तर गरी सेयर बजारको विकास र विस्तारमा कोही तगारो बनिनु हँुदैन ।’

अहिले पनि खुला रुपमै इन्साइडर ट्रेडिङ भइरहेको जिकिर गर्दै उनले ‘बैंकलाई लाइसेन्स दिए भित्री कारोबार हुन्छ’ भन्दै ब्रोकरहरुले गलत धारणा पालिरहेका र भ्रम फैलाइरहेका बताए । बैंकलाई ब्रोकर लाइसेन्स वितरण गरिए देशभर दोस्रो बजारको पहुँच बढ्ने  र धितोपत्र बजारमा माग बढी अहिलेको अधिक आपूर्तिको समेत सहजै व्यवस्थापन भई दैनिक सेयर कारोबार रकम ३ देखि ५ अर्ब पुग्ने दाबी समेत गरे । 

कारोबार बढेसँगै सरकारलाई प्राप्त हुने पूँजीगत लाभमा समेत छलाङ आउने बताउँदै उनले थपे–‘हालका ब्रोकरहरुको सीमित स्टेशनबाट कारोबार भइरहेकामा छरिएर रहेका पूँजीहरु एकत्रित गर्न वाणिज्य बैंकका शाखाहरु सहायकसिद्ध हुनेछन् ।’ बैंकलाई ब्रोकर लाइसेन्स अपरिहार्य रहेको जिकिर गर्दै यो व्यवस्थाले ब्रोकरेज सेवामा स्वस्थ प्रतिस्पर्धा भएर लगानीकर्ताहरुले गुणस्तरीय सेवा पाउने उनको दाबी छ ।

ब्रोकरहरु हाल तगारोको रुपमा देखा परेका र उनीहरुले आफ्नो परम्परागत सोचाइ त्यागी व्यवसाय गुम्ने डर मनबाट हटाइदिन रौनियारले आग्रह गरे । 
हाल ५० ब्रोकरहरुले बजार र त्यहाँ भएको अरबौंको लगानीमाथि एकाधिकार जमाइरहेको र स्वस्थ प्रतिस्पर्धाको अन्य विकल्प नहुँदा इन्साइडर ट्रेडिङ पनि मौलाइरहेको उनको आरोप छ ।

यसैगरी, सेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकालले बैंकका सहायक कम्पनीहरुले अविलम्ब ब्रोकर लाइसेन्स पाउनुपर्ने आम लगानीकर्ताहरुको माग कार्यान्वयनमा ढिलाइ भइरहेकोमा आपत्ति जनाए । 

बैंकलाई ब्रोकर लाइसेन्स नदिन ‘कालो खेल’ खेलिएको दाबी गर्दै उनले भने–‘यस्तो खेलको भण्डाफोरसँगै सशक्त प्रतिवाद गरिनेछ । अहिलेसम्मको अवस्था हेर्दा बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा नेप्सेले गाँठो बनाइरहेको देखिएको छ । तर, अब बैंकलाई ब्रोकर लाइसेन्स कसैले रोकेर रोकिनेवाला छैन ।’

बैंकलाई ब्रोकर लाइसेन्स दिनुअघि नै ब्रोकरहरुले सस्तोमा सेयर उठाउन नियोजित खेल समेत खेलिरहेका हुनसक्ने आशंका गर्दै ढकालले यस्ता खेल खेल्ने जोकोहीलाई नछाड्ने चेतावनी समेत दिएका छन् ।