-भक्तराज रसाइली
काठमाण्डौ । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स रोक्ने विषयमा आफूभन्दा ठूलो शक्ति लागेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दाबी गरेका छन् । 

बिहीबार बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा भइरहेको ढिलाईप्रति खबरदारी गर्न नेप्से पुगेका सेयर लगानीकर्ता दवाब समूहका अध्यक्षसँग सीइओ साउदले यस्तो दाबी गर्दै थुमथुम्याउने प्रयास गरेका हुन् । 

‘बैंकलाई ब्रोकर लाइसेन्स रोक्नका लागि मभन्दा ठूलो शक्ति लागिरहेको छ, अहिले तपाई(लगानीकर्ता)हरु चूप लागिदिनुहोस् ।’ ढकाल निकट एक स्रोतले भन्यो–‘हामी चाँडै बैंकलाई ब्रोकर लाइसेन्स दिन्छौ, तर यो तयारी त्यो शक्तिले थाहा पायो भने फेरि भाँडिन्छ ।’

ढकालले आफू निकटस्थहरुसँग साउदले आफूसँग निरीह बनेर प्रस्तुत भएका दाबी समेत गरेका छन् । 'साउदको कुरा सुनेपछि बैंकलाई ब्रोकर लाइसेन्स वितरण रोक्न ठूलै खेल भइरहेको बुझ्न सकिन्छ ।' ढकाललाई उद्धृत गर्दै स्रोतले भन्यो-'बैंकलाई ब्रोकर लाइसेन्सको विषयमा साउदको प्रत्येक दिन फेरिरहेको अभिव्यक्तिले उनको नियत समेत ठीक देखिएन ।' 

ढकालले साउदसँग भेट गरेपछि बैंकलाई ब्रोकर लाइसेन्स रोक्न ठूलै चलखेल भइरहेको संकेत पाएको भन्दै लगानीकर्ता दवाब समूहले यो विषयमा अर्थमन्त्रालयमा पुगेर दवाब दिने निश्कर्ष समेत निकालेको छ । एकदुई दिनमै अर्थमन्त्रालयमा गएर बैंकलाई ब्रोकर लाइसेन्स वितरणमा भइरहेको ढिलाईको विषयमा दवाब समूहले खबरदारी गर्ने निर्णय समेत भएको स्रोतले जनाएको छ ।

अरुसँग भेट्न डराए साउद
यसैबीच, बैंकलाई ब्रोकर लाइसेन्सको गाँठोका विषयमा भइरहेको ढिलासुस्तीमा खबरदारी गर्न जाँदा लगानीकर्ता दबाब समूहको टोलीलाई बिहीबार नेप्सेले विवादमा परिने भन्दै भेटघाट गर्न डराएको छ ।  

लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले बुधबार नै नेप्सेका सीइओ चन्द्रसिंह साउदसँग समय माग गरेर बिहीबार पुग्दा सीइओ साउदले भेट्न नमानेका हुन् । अध्यक्ष ढकालसँग अरु ७ जना समूहका सदस्य र केही मिडियाका साथ नेप्से पुगेपछि सीइओ साउद तर्सेका हुन् । मिडियाले लखेटिरहेकोले आफूले यस विषयमा दवाब समूहसँग प्रतिक्रिया दिन नचाहेका उद्धृत गर्दै ढकालले भने–‘१÷२ दिनभित्र अर्थमन्त्रालय यही विषयमा डेलिगेसनमा जानेछौं । यसपछि हामीले नेप्से घेराबन्दी र धर्ना कार्यक्रम गर्न बाध्य हुनेछौ ।’ 

नेप्सेका सीइओ चन्द्रसिंह साउदले नै धमिलो पानीमा माछा मार्ने सुनियोजित षडयन्त्र गरेको ढकालको आरोप छ । राज्यले नै दिएको निर्देशन नेप्सेले जालझेल गरिरहेको उल्लेख गर्दै र पछिल्लो समय साउदको अभिव्यक्तिबाट बैंकलाई ब्रोकर लाइसेन्स रोक्ने मनसाय प्रमाणित भएको उनले आरोप लगाए । 

बैंकलाई ब्रोकर लाइसेन्स रोक्नेहरु सफल नहुने जिकिर गरेका ढकाल पूँजी बजारको विकास र विस्तारका लागि बैंक लाई ब्रोकर लाइसेन्स अतिआवश्यक रहेको उनले जोड दिए । 

‘बैंकलाई ब्रोकर लाइसेन्स रोक्न आज सीइओ साउदले नै गरेको प्रमाणित भयो ।’ ढकालले भने–‘ब्रोकरहरुले बैंकलाई ब्रोकर लाइसेन्स रोक्न रोकावटको जालझेल व्यर्थ हो ।’ 

नेपाल राष्ट्र बैंकले बैंकलाई ब्रोकर लाइसेन्सको स्वीकृति दिए नेप्सेले १ घण्टाभित्र ब्रोकर लाइसेन्सको अनुमति दिने प्रतिवद्धता दिइरहेका साउद यो मुद्धा ओझेलमा पार्नु दिवास्वप्न भएको ढकालको ठम्याइ छ । 

लगानीकर्ताहरुलाई समसामयिक विषयमा प्रतिक्रिया बुझ्ने प्रयास गर्दा नेप्सेका साउदले भेट्न नचाहनुबाटै बैंकलाई ब्रोकर लाइसेन्स दिन रोक्न मुख्य भिलेन भएको जिकिर गर्दै दबाब समूहका महासचिव नयन बास्तोलाले बिजशालासँग भने–‘दालमा केही कालो पक्कै छ ।’

यसैबीच, समूहकी सदस्य सुशीला थपलियाले बैंकलाई ब्रोकर लाइसेन्स वितरण गर्न नेप्सेले गठन गरेको कमिटि पैसामा बिकेको आरोप लगाइन् ।

लगानीकर्ताहरुको हकहितका लागि नियामकमा खबरदारी गर्न जाँदा हामीसँग भेट नदिनु भनेकै लाचारीपन र गैरजिम्मेवारीपन भएको आरोप लगाउँदै बिजशालासँग सदस्य थपलियाले चाँडै अर्को कदम चालिने उनले चेतावनीसमेत दिइन् ।