काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै जारी निषेधाज्ञा अझ कडा बनाइने घोषणा गरेका थिए । सोही घोषणापछि काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयको आवागमनलाई थप कडाई गर्ने तयारी सुरु गरेका छन् । 

तीन जिल्लाका प्रशासन कार्यालयहरुले यसअघि एकसाताका लागि घोषणा गरेको निषेधाज्ञाको अवधि बुधबार सकिँदैछ । भोलि अर्थात मंगलबार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । सो बैठकले निषेधाज्ञालाई बैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्ने तयारी गरेको छ भने बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयलाई सीमित सवारी पास दिने र सडकको भीडभाड घटाउने गृहकार्य गरिरहेको छ । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बिजशालासँग कुरा गर्दै निषेधाज्ञालाई थप कडा बनाउने तयारी भइरहेको प्रष्ट पारे । 

बैंक तथा वित्तीय संस्थाको सेवा अत्यावश्यक सेवाभित्रै नै पर्छ । तर, यस्ता सेवा प्रवाह हुने कार्यालयका लागि सीमित सवारी पास मात्र उपलब्ध गराउने गरी निर्णय गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकअघि भएका अनौपचारिक छलफलहरुमा तीनवटै जिल्ला प्रशासन कार्यालयबाट बैंक तथा वित्तीय संस्थालाई एउटा चार पांग्रे र एउटा दुई पांग्रे सवारीको पास मात्र दिने गरी कडाई गर्नुपर्ने विषय आएको छ । यो विषयमा तीनवटै जिल्लाका प्रजिअहरु सकारात्मक छन् । 

यस्तै, तीनवटै जिल्लाका प्रजिअहरुको बैठकले सरकारी कार्यालयका सवारीको आवागमनमा समेत कडाई गर्ने निर्णय गर्नेछ । भरसक ५० प्रतिशत मात्र सवारी साधन संचालन गर्न दिइने गरी नयाँ आदेश आउनसक्ने भट्टराईले बताए । 

उनका अनुसार मंगलबार बस्ने तीनवटै जिल्लाका प्रजिअहरुको संयुक्त बैठकले यो विषयमा निर्णय गर्नेछ र मंगलबार नै निषेधाज्ञामा थप कडाईसहितको नयाँ आदेश जारी हुनेछ । 

स्थानीय प्रशासनले उपत्यकाका तीन जिल्लामा सोमबारदेखि नै केही कडाई सुरु गरिसकेको छ । खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको कारोबार हुने पसल तथा व्यवसाय पनि बिहान मात्र संचालन गर्न पाइने नयाँ व्यवस्था आजैदेखि लागू भइसकेको छ । 

यस्तै, प्रहरीको सहयोगमा सडकमा निस्किने सवारी साधनहरुको चेकजाँचलाई पनि कडा पारिएको छ । तोकिएका क्षेत्रबाहेक निषेधाज्ञाको उल्लंघन गरी सवारी बाहिर निकाल्नेहरुलाई ठाउँ ठाउँमा चेकजाँच गरी होल्ड गरिएको छ भने कतिपयलाई जरीवाना तथा कारबाही समेत गरिसकिएको छ । 

काठमाण्डौका तीन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले बैशाख १६ गतेदेखि एकसाता लामो निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए । निषेधाज्ञा केही खुकुलो भएकै कारण संक्रमण नघटेको निश्कर्ष निकाल्दै थप कडाई हुन लागेको हो।