काठमाण्डौ । साताको धितोपत्र कारोबारको अन्तिम दिन आज बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।

आज नेप्से परिसूचकमा १६.५५ अंकको करेक्सन आएको हो। योसँगै परिसूचक २४२५.२९ को विन्दुमा झरेको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३२ अंकले ओरालो लागेको ४४२.०६ को विन्दुमा ओर्लेको छ। 

आज कारोबार रकमले भने नयाँ उचाइ चुमेको छ। आज झन्डै १० अर्ब रुपैयाँ हाराहारीको सेयर कारोबार भएको छ। 

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने बैंकहरुको रिपोर्ट सन्तोषजनक नदेखिएपछि लगानीकर्ताहरुले ठूलो मात्रामा बैंकको सेयर बेच्दा कारोबार रकम बढे पनि बजारमा करेक्सन आएको बताउँछन्। तर आज निर्जीवन बीमा र लघुवित्त समूहले बजारमा ठूलो करेक्सन आउनबाट जोगाएको उनको तर्क छ। ‘यदि यी समूहमा पनि गिरावट आएको भए आज बजारमा ३०–४० अंकको करेक्सन आउने थियो’, उनले भने, ‘तर बढ्दो बजारमा करेक्सन आउँदैमा आत्तिनुपर्ने अवस्था छैन।’

अहिलेको बजारमा सेक्टरवाइज बढोत्तरी भइरहेकोले लगानीकर्ताहरुले सम्हालिएर अगाडि बढे राम्रै प्रतिफल पाउने न्यौपानेको भनाइ छ। 

बजार जानकार प्रेम ओली आजको करेक्सनलाई सामान्य रुपमा लिन्छन्। ‘कारोबार रकमले बजार अझै बढ्ने संकेत गरेको छ’, उनले भने, ‘बढ्दो बजारमा सामान्य करेक्सन आउनै पर्छ।’

‘आजको सुरुआती चरणमा लगानीकर्ताहरुले गतिलो रिपोर्ट नआएकै कारण बैंकहरु सेयरहरु बचे तर टाठाबठा लगानीकर्ताहरुले पछि अवश्य बढ्ने सोचका साथ अन्तिम समयमा बैंकका सेयरहरु धमाधम उठाए, जसले गर्दा कारोबार रकम बढ्यो’, ओली भन्छन्। 

अघिल्ला ४–५ हप्ताको कारोबार हेर्दा बजारले छिटै ३००० को विन्दु चुम्न सक्ने देखिएको ओली बताउँछन्। अहिलेको अवस्थामा अन्य सेक्टरमा सजगताका साथ लगानी गर्ने र बैंक तथा वित्तीय संस्थामा गरिएको लगानी पनि सुरक्षित नै रहेको ओलीको तर्क छ। ‘अहिलेको ट्रेन्डले बैंक तथा वित्तीय संस्थाबाट प्रतिफल लिन केही समय कुनुपर्ने देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने बाँकी ९ वटामा रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ४१०.३९ अंकले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १६७ अंकले बढेको आज लघुवित्त समूहमा ८७.२४ अंकले बढेको छ।

आज विकास बैंक समूह सर्वाधिक ४३.२५ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ४२.४७ अंकले घटेको आज बैंकिङ समूहमा ४१.०८ अंक, व्यापार समूहमा ४.९८ अंक, होटेल्स् समूहमा २५.९६ अंक, जलविद्युत् समूहमा २२.९१ अंक, वित्त समूहमा १८.२ अंक, अन्य समूहमा ११.०३ अंक र म्युचुअल फन्ड समूहमा ०.२२ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०९ कम्पनीका २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता सेयर ९ अर्ब ९८ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँमा कारोबार भएको छ। यो हालसम्मकै उच्च कारोबार रकम पनि हो। 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५७ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ३२ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएका आज पुनर्बीमा कम्पनीको ३० करोड २ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २८ करोड ६० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २७ करोड ३१ लाख रुपैयाँ, नेपाल टेलिकमको २२ करोड ९० लाख रुपैयाँ, नेको इन्सुरेन्सको २२ करोड ४४ लाख रुपैयाँ, प्रभु बैंकको २० करोड ७० लाख रुपैयाँ, नेपाल बैंकको २० करोड ५१ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको १९ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन सूर्योदय लघुवित्त र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा सपोर्ट माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन सारथि नेपाल लघुवित्तको सेयरमूल्य ९ प्रतिशत बढी तथा हिमालयन डिस्टिलरी र ग्रिन विकास लघुवित्तको सेयरमूल्य ९ प्रतिशतको हाराहारीमा वृद्धि भएका छन्।

आज सिद्धार्थ इक्विटी फन्डका इकाइधनी र हिमालयन पावर पार्टनरका सेयरधनीहरुले धेरै गुमाए। सिद्धार्थ इक्विटीको इकाइमूल्य ७ प्रतिशतको हाराहारीमा र हिमालयन पावर पार्टनरको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आएको छ।