काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा एकै दिन रु. ४ अर्ब रुपैयाँले बढेको छ। लगातार ओरालो लागिरहेको बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन पछिल्ला केही दिनदेखि सुधारान्मुख देखिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर १७ गते एकै दिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९५ अर्ब रुपैयाँ थियो। 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको मंसिर १७ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १६ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८१ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले कर्जा लगानी २ अर्ब रुपैयाँले मात्रै बढेको छ। 

वाणिज्य बैंकहरुको निक्षेप भने यो एक दिनमा ३ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १६ गतेसम्म ४२ खर्ब २८ अर्ब रुपैयाँ रहेको कुल निक्षेप बढेर मंसिर १७ गतेसम्म ४२ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। 

यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले मात्र बढेको छ। गत मंसिर १६ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा बढेर ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। 

राष्ट्र बैंकका अनुसार मंसिर १७ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ९०.८६ प्रतिशतमा झरेको छ। गत मंसिर १६ गते औसत सीडी रेसियो ९०.८८ प्रतिशत रहेको थियो। 

अन्तरबैंक ब्याजदर पनि ४.९६ प्रतिशतबाट घटेर ४.९५ प्रतिशतमा झरेको छ।