काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ९ अर्ब रुपैयाँले घटेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत पुस ८ गते एकैदिन ९ अर्ब रुपैयाँले घटेको हो। गत पुस ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८ अर्ब रुपैयाँ रहेकोमा पुस ८ गते घटेर ४७ खर्ब ९९ अर्ब रुपैयाँमा सीमित बनेको छ।

गत पुस ८ मा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ९ अर्ब रुपैयाँले घटेर कुल ४२ खर्ब २९ अर्ब रुपैयाँमा झरेको छ। गत पुस ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३८ अर्ब रुपैयाँ रहेको थियो। 

बैंक तथा वित्तीय संस्थाहरुको पुस ८ मा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ७ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी वाणिज्य बैंकहरुको पनि कुल कर्जा लगानी १ अर्ब रुपैयाँले बढेर पुस ८ गतेसम्म ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ७ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो। 

यसैबीच निक्षेप घट्दा बैंकहरुको औसत सीडी रेसियोमा दबाब परेको छ। गत पुस ७ गतेसम्म ९१.२१ प्रतिशत रहेको औसत सीडी रेसियो बढेर पुस ८ गते ९१.४२ प्रतिशत पुगेको छ। 

अन्तरबैंक ब्याजदर पनि बढेर ४.९८ प्रतिशत पुगेको छ।