काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन बढ्दै गएपछि सीडी रेसियो पनि सहज हुन थालेको छ। 

निक्षेप संकलन बढ्दै गएपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो ९१ प्रतिशत तल झरेको छ। गत पुस १३ गतेसम्म ९१.०२ प्रतिशत रहेको सीडी रेसियो घटेर पुस १६ मा ९०.७६ प्रतिशतमा सीमित बनेको छ। 

यो तीन दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ। गत पुस १३ गतेसम्म कुल निक्षेप ४८ खर्ब १० अर्ब रुपैयाँमा पुस १६ गतेसम्म बढेर ४८ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। पुस १६ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी वाणिज्य बैंकहरुको निक्षेप पनि यो ३ दिनमा ७ अर्ब रुपैयाँ बढेको छ। गत पुस १३ गते कुल निक्षेप ४२ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस १६ गतेसम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। पुस १६ गते एकैदिन वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँले बढेको छ।

उता बैंक तथा वित्तीय संस्थाले यो ३ दिनमा थप ५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै पुस १६ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १३ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ। 

वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि यो ३ दिनमा ५ अर्ब रुपैयाँले ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १३ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो।

पुस १६ गतेसम्म अन्तरबैंक ब्याजदर भने ४.९७ प्रतिशत नै रहेको छ।