काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले घटेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८९ अर्ब रुपैयाँमा खुम्चिएको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। पुस ३० मा एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ अर्ब रुपैयाँले बढेको थियो। 

वाणिज्य बैंकहरुको निक्षेप पनि माघ २ मा १० अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ २ मा घटेर ४३ खर्ब १४ अर्ब रुपैयाँमा झरेको छ। पुस ३० मा वाणिज्य बैंकहरुनिक्षेप एकैदिन ३८ अर्ब रुपैयाँले बढेको थियो।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी पनि माघ २ मा एकैदिन ६ अर्ब रुपैयाँले घटेर ४६ खर्ब ६० अर्ब रुपैयाँ झरेको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो।

माघ २ मा वाणिज्य बैंकहरुको कर्जा लगानी ५ अर्ब रुपैयाँले घटेको छ। योसँगै कुल कर्जा लगानी ४१ खर्ब ३९ अर्ब रुपैयाँमा झरेको छ। गत पुस ३० मा कुल कर्जा लगानी ४१ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो।

माघ २ मा बैंकहरुको औसत सीडी रेसियो थोरै बढेर ८९.७८ प्रतिशत पुगेको छ। गत पुस ३० सम्म औसत सीडी रेसियो ८९.६४ प्रतिशत रहेको थियो।

अन्तरबैंक ब्याजदर भने माघ २ मा ४.९९ प्रतिशत पुगेको छ।