काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चैत ९ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ। गत चैत ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप भने १४ अर्ब रुपैयाँले घटेको छ। गत चैत ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा चैत ९ मा घटेर ४३ खर्ब १३ अर्ब रुपैयाँमा झरेको हो। 

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा परिचालन भने स्थिर रहेको छ। गत चैत ८ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा परिचालन ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा चैत ९ गते पनि त्यति नै रहेको छ। 

वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि स्थिर रहँदै चैत ९ गते ४१ खर्ब ६६ अर्ब रुपैयाँ नै रहेको छ। गत चैत ८ गते पनि वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ नै रहेको थियो।

चैत ९ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ९०.९६ प्रतिशत पुगेको छ। चैत ८ मा औसत सीडी रेसियो ९०.७३ प्रतिशत रहेको थियो।

बैंकहरुको अन्तरबैंक ब्याजदर ६.९९ प्रतिशत रहेको छ।