काठमाण्डौ । लगभग सँगसँगै चार जोडी वाणिज्य बैंकहरुले आपसमा मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गर्दा सेयर बजारका लगानीकर्तालाई केही असहज भएको छ। 

कुमारी–एनसीसी, प्रभु–सेञ्चुरी, ग्लोबल आइएमई–बीओके र नेपाल इन्भेस्टमेन्ट–मेगा बैंकले गत पुस मसान्तभित्रै मर्जर प्रक्रिया पूरा गरी एकीकृत सुरु गरिसकेका छन्। एकीकृत कारोबार सुरु गर्नका लागि यी सबै बैंकले डाटा माइग्रेसन गर्दा १–२ दिन बैंकिङ सेवा पनि प्रभावित बनेको थियो। 

अहिले भने सेयर बजारमा यी बैंकहरुमा रहेका खाताबाट कारोबार गर्ने लगानीकर्ताहरुलाई केही असहज भएको छ। मर्चेन्ट बैंक (क्यापिटल) तथा ब्रोकर हाउसमा बैंक खाता अपडेट गर्नुपर्ने, सीआरएन नम्बर पनि फेरि लिनुपर्ने, कनेक्ट आईपीओमा अपडेट गर्नुपर्ने भएपछि लगानीकर्तालाई असहज भएको हो। 

हिजोआज क्यापिटल र ब्रोकर हाउसहरुमा नयाँ डिम्याट खाता खोल्न आउने र पुराना डिम्याट खातामा बैंक खाता अपडेट गराउन आउनेको भीड नै लाग्ने गरेको छ। 

सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)मा धेरै लगानीकर्ता अहिले नयाँ डिम्याट खाता खोल्न आएका भेटिए। केही लगानीकर्ताहरु भने बैंकहरु मर्ज भएपछि प्राप्त नयाँ बैंक खाता अपडेट गर्न आएका थिए। 

ब्रोकर हाउसमा भेटिएका सुरेन्द्र श्रेष्ठले बैंकहरु मर्ज भएपछि बैंक खाता नम्बर परिवर्तन भएकोले अपडेट गर्न आएको बताए । ‘ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डौ मर्ज भएर एकीकृत कारोबार सुरु भइसकेको छ’, श्रेष्ठले भने, ‘मेरो बैंक अफ काठमाण्डूमा बैंक खाता थियो, अहिले ग्लोबल आइएमई बैंकको नाममा नयाँ खाता नम्बर आएको छ। त्यही खाता नम्बर अपेडट गर्न ब्रोकरकोमा आएको हुँ।’

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले ‘मेरो सेयर’मा लगानीकर्ताहरुको बैंक खाता आफैँ अपडेट हुने व्यवस्था गरिएको बताए।