काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट १ लाखबढी व्यक्तिको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा १ लाख ४७ हजार ३७३ ऋणीको विभिन्न १० शप्र्षकमा २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो। यद्यपि २ खर्ब १३ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ कर्जा स्वीकृत हुनु बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ। 

केन्द्रीय बैंकका अनुसार ५६ बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायिक कृषि तथा पशुपन्छी, बिना धितो, धितोसहित, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवा वर्ग स्वरोजगार कर्जा शीर्षकमा सो ऋण प्रदान गरेका हुुुन्।

सोही अवधिमा वाणिज्य बैंकले २ खर्ब २६ अर्ब ८१ करोड ९० लाख ६० हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा दिएका छन्। जसमा १ खर्ब ८६ अर्ब २२ करोड ९६ लाख २ हजार रुपैयाँ स्वीकृत हुन बाँकी छ। १० शीर्षकमा वाणिज्य बैंकबाट कुल १ लाख २५ हजार ७७१ ऋणीले उक्त कर्जा पाएको तथ्यांकमा उल्लेख छ। 

यस्तै विकास बैंकहरुबाट कुल १९ हजार ६२५ ऋणीको २९ अर्ब ४३ करोड १ लाख ६३ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ। २४ अर्ब ७२ करोड ८१ लाख ९५ हजार रुपैयाँ भने स्वीकृत हुन बाँकी कर्जा रहेको राष्ट्र बैंकको भनाइ छ।  

असार मसान्तसम्ममा फाइनान्स कम्पनीबाट १ हजार ८९३ ऋणीको १० शीर्षकमा ३ अर्ब २० करोड ५९ लाख ९५ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ। २ अर्ब ८५ करोड ११ लाख ८४ हजार रुपैयाँ भने स्वीकृत हुन बाँकी छ। 

यस्तै लघुवित्त कम्पनीले १०४ ऋणीको १० करोड २६ लाख ९० हजार रुपैयाँ कर्जा स्वीकृत गरेका छन्। ८ करोड २ लाख ९४ हजार रुपैयाँ कर्जा स्वीकृत गर्न बाँकी रहेको छ। 

केन्द्रीय बैंकले असार मसान्तसम्म १६ अर्ब ९६ करोड ८५ लाख ८ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जाका लागि प्रदान गरेको थियो।