काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाहरु संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्। 

राजधानीमा सोमबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले संकटका बेला बढी नाफामुखी हुन नहुने बताएका हुन्। ‘संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन’, उनले भने, ‘संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुपर्यो। यो भावना देखिएको छैन। संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो।’ 

संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा शर्माले जोड दिए। ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, उनले भने, ‘यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नका लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ।’

बैंक तथा वित्तीय संस्थाहरुले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने पनि अर्थमन्त्री शर्माले बताए। ‘मुलुकको ग्राहस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान छ’, उनले भने। 

मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरुलाई आग्रह गरे। कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको उल्लेख गर्दै ती मुलुकमा शाखा खोल्न आग्रह गरेका हुन्। त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उनको विश्वास छ। 

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टीकृत गर्नुपर्ने आवश्यकता औँल्याए। बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको उल्लेख उनले विशिष्टीकरण गर्नुपर्नेमा जोड दिए। ‘आफूले आफैँलाई ऋण दिने/लिने देखिएको छ’, उनले भने, ‘यसले गर्दा ब्याजलगायतका तथ्यांक सही रुपमा आएनन्।’