काठमाण्डौ । सरकारले स्थानीय निर्वाचनको मिति तय गरिसकेको छ। योसँगै अब विकास खर्च तथा चालु खर्च दुवै बढ्ने विज्ञहरुले बताउँदै आएका छन्।

विकास खर्च तथा चालु खर्च बढ्दै जाँदा तरलता बढ्ने र ब्याजदर स्थिर रहने अनुमानका बीच केही बैंकहरुले आफूखुसी कर्जाको ब्याज बढाएका गुनासा पनि आउन थालेका छन्।

केही वाणिज्य बैंकहरुले ग्राहकलाई बोलाएर कर्जाको ब्याज बढेको भन्दै नयाँ एग्रिमेन्ट गर्न लगाइरहेको सेयर लगानीकर्ताले गुनासो गर्न थालेका छन्। सक्रिय लगानीकर्ता प्रेमकुमार शर्माका अनुसार अहिले बैंकले फागुनको नयाँ ब्याजदर नआउँदै पुराना ग्राहकलाई फोन गरेर नै बोलाएर ब्याज बढेको भन्दै एग्रिमेन्ट गर्न लगाइरहेका छन्। ‘ब्याजदर बढेकै कारण केही दिनयता सेयर बजार प्रभावित भइरहेको छ’, शर्माले भने।

नेपाल बैंकर्स एसोसियसन (एनबीए) का अध्यक्ष अनीलकुमार उपाध्ययले भने बैंकहरुले अहिले नै ब्याजदर बढाउन नपाउने स्पष्ट पारे। बैंकहरुले आधार दरमा प्रिमियम थपेर ब्याज लिने उपाध्ययले बताए। ‘केही बैंकहरुले पहिले प्रिमियम कम लिएको खण्डमा अहिले प्रिमियम बढाएका हुन सक्छन्’, उनले भने, ‘अन्यथा बैंकहरुले आफूखुसी अहिले नै ब्याजदर बढाउन पाउँदैनन्।’

कर्जा लिने–दिनेबीचको सहमतिमा पनि ब्याज निर्धारण हुन सक्ने उपाध्यायले बताए। ‘बजारको अवस्थामा ब्याजदर भर पर्छ’, उनले भने, ‘तर, अहिले नै नयाँ ब्याजदर प्रकाशित नगरी आफूखुसी बढाउन पाइँदैन।’

फागुन महिनामा ब्याजदर के गर्ने भन्ने विषयमा केही दिनपछि मात्रै थाहा हुने उपाध्यायले बताए। ‘बैंकहरुलाई ब्याज बढाएरमात्रै फाइदा हुने होइन’, उनले भने, ‘बैंकले खासमा मर्जिनमात्रै खाने भएकोले ब्याज बढाएर फाइदा छैन।’