– रेखा चन्द

काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकट कायमै रहेको छ। तरलता सहज नहुँदा कतिपय बैैंकहरु अझै कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन्। 

चालु आर्थिक वर्ष सुरु भएयता बैंकिङ प्रणालीबाट १ खर्बभन्दा बढी निक्षेप बाहिरिएको छ। साउन महिनाको २५–२६ दिनमै प्रणालीबाट उक्त रकम बाहिरिँदा कतिपय बैंकहरु अझै कर्जा दिन नसक्ने अवस्थामा रहेका हुन्। 

गत आर्थिक वर्षदेखि नै बैंकमा तरलता संकट भइरहेकोले बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा रहेको बैंकरहरुको भनाइ छ। ‘अझै पनि कतिपय बैंकहरु कर्जा दिनसक्ने अवस्थामा छैनन्’, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी भन्छन्, ‘अहिले बैंकहरु टाइट अवस्थामा छन्, पैसा राख्ने र निकाल्ने काम बढी भइरहेको छ।’ 

गाह्रो अवस्था भएकाले कर्जा दिन सक्ने अवस्थामा बैंकहरु नरहेको अधिकारी बताउँछन्। उनले २५–२६ दिनमै बैंकिङ प्रणालीबाट १ खर्बभन्दा निक्षेप घटिसकेको जानकारी दिए। 

सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे बैंकहरुले स–साना प्रकारका कर्जा दिइरहेको बताउँछन्। ‘पहिलेको भन्दा अहिले स–साना कर्जाहरु बैंकहरुले दिइरहेको जस्तो लाग्छ’, उनले भने, ‘बैंकहरुले आफूसँग भएको पैसालाई लगानी गर्ने हो, हाम्रो हकमा भन्ने हो भने हामीले साना कर्जा दिइरहेका छौँ।’

नेपाल राष्ट्र बैंकका राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल हाल बैंकिङ प्रणालीमा २९ अर्ब २३ करोड अधिक तरलता रहेको बताउँछन्। बैंकिङ प्रणालीमा ५० अर्बभन्दा बढी रकम भएमात्रै तलरताको अवस्था सहज भएको मान्न सकिन्छ। तर, ५० अर्बभन्दा कम रकम छ भने त्यसले तरलतामा चाप पर्न थालेको बुझिन्छ। 

सहप्रवक्ता पोखरेलका अनुसार साउन २८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुसँग ५ खर्ब १७ अर्ब ४६ करोड कुल निक्षेप रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ९२ अर्ब रहेको ७१ करोड रहेको छ। 

बैंकहरुको औसत सीडी रेसियो ८८.३२ प्रतिशत रहेको छ।