काठमाण्डौ । अब बैंकहरुले आ–आफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खुलेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकले बैंकहरुलाई आआफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खोलिदिएको हो। यसअघि ब्याजदर भद्र सहमतिका आधारमा निर्धारणा गरिँदै आएको छ। जुन अब हटेको छ।
अहिले बैंकहरुले सहमतिमा ब्याजदर निर्धारण गर्नेभन्दा पनि आआफ्नो हिसाबले ब्याजदर तोक्ने विषयमा निर्णय भएको एक बैंकका सीईओले जानकारी दिए। ‘अर्थमन्त्री पनि बैंक ब्याजदर घटाउनुपर्छ भन्ने पक्षमा रहेका छन्, प्रणालीमा पनि तरलता फालाफल छ, त्यसैले ब्याजदर घट्नेछ’, ती सीईओले भने।
अर्कोतर्फ कर्जा लगानीको अवस्था सुस्त रहेको छ। जसका कारण बैंकहरु न्यून ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन तयार भइरहेका छन्। ‘त्यसैले साउनमा ब्याजदर घटाउने पक्षमा बैंकहरु देखिएका छन्’, ती सीईओले भने।
पछिल्लोपटक बैंकहरुले वैशाख महिनामा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारेका थिए। बैंकहरुले वैशाख महिनामा संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत, व्यक्तिगत मुद्दति निक्षेपको ९.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरेका थिए।
सोही ब्याजददरलाई वाणिज्य बैंकहरुले जेठमा पनि कायमै राखेका थिए भने असारमा पनि त्यसैलाई निरन्तरता दिएका छन्।
कर्जाको ब्याजदर पनि घट्ने भएको छ। राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत असार मसान्तसम्म १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्नेछ। असारमा पनि कर्जाको ब्याजदर केही घटेको थियो।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
19 hours ago
20 hours ago
21 hours ago
21 hours ago