काठमाण्डौ । नेपाली सेयर बजारमा सबैभन्दा धेरै हिस्सा ओगट्ने बैंकिङ समूहका स्क्रिप्टहरु चम्किँदा सोमबार नेप्से परिसूचक उछालको गतिमा दौडिएको छ । 

साताको पहिलो कारोबार दिनको बढोत्तरीलाई निरन्तरता दिंदै बजारले सुधारिएको प्रदर्शन गरेको हो । 

सोमबार नेप्से परिसूचक १८.२६ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १२०० को विन्दू चुम्दा कारोबार रकममा पनि निकै राम्रो सुधार देखिएको छ । निकै लामो समयपछि नेप्से परिसूचक पुनः १२०० को विन्दू पार गर्दै माथि उक्लिएको हो । 

आइतबारको तुलनामा कारोबार रकममा पनि १३ करोड बढीको बढोत्तरी भएको देखिएको छ । 

बैंक ब्याजदर कम हुँदै जानु, सेयर कर्जाको ब्याजदरमा समेत केही राहातको अवस्था बन्नु र सेयर बजार विरोधी अर्थमन्त्री नदोहोरिने संभावना बढेसँगै लगानीकर्ताको आत्माबल बढेको ेदेखिएको छ । 

बजारका जानकार तथा विश्लेषकहरुले बैंकिङ समूहका स्क्रिप्टहरु चम्किएका कारण बजारमा दिगो बढोत्तरीको क्रम सुरु भएको हो कि भनेर अनुमान लगाउन सकिने दाबी गरेका छन् । उनीहरुको दाबीलाई आधार मान्ने हो भने आइतबारदेखि सुरु भएको बजार बढोत्तरीको क्रम लामो समयसम्म चल्ने देखिन्छ । 

यसअघि पनि बजार बढेको थियो, तर बजारमा सामान्य हिस्सा ओगट्ने समूहको बढोत्तरीले दिगोपन ल्याउन सक्दैनन् भनेर विश्लेषण गरिएको थियो । बजारको मुख्य समूहमै निकै राम्रो बढोत्तरी भएपछि अब ‘बुल रन’ सुरु हुने आशा बढेर गएको विश्लेषकहरु बताउँछन् । 

सोमबार बैंकिङ समूहको उपसूचक २५.८६ अंकले बढ्यो । विकास बैंक समूहमा १३.१७ अंक, बित्त समूहमा १.४९ अंक र माइक्रोफाइनान्स समूहमा ३३.९८ अंकको बढोत्तरी भयो । 

यसैगरी, जीवन बिमा समूह १२.१३ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा ०.७९ अंकको झिनो बढोत्तरी भयो भने होटल समूह २.९८ अंक, जलविद्युत समूह ०.१४ अंक, उत्पादन तथा प्रशोधन समूह ४.४५ अंक, म्युचुअल फण्ड समूह ०.१५ अंक र अन्य समूह ३.५६ अंकले बढे । यो दिन व्यापार समूहमा भने १२.२६ अंकको गिरावट आयो । 

लगानीकर्ताहरुले राम्रा र बलिया कम्पनीको सेयरमा खरीदारी बढाउँदा सेन्सेटिभ इण्डेक्स ४.९३ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.४८ अंकको बढोत्तरी देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता सेयर ८४ करोड २५ लाख ८२ हजार १५० रुपैयाँमा किनबेच भयो ।

सबैभन्दा बढी एनआइसी एशिया बैंकले ८ करोड ४६ लाख बढीको कारोबार गर्यो । 

नेको इन्स्योरेन्समा बिक्री चाप बढ्दा ३ करोड ७० लाख बढीको कारोबार भयो भने शिवम सिमेन्टले ३ करोड ६६ लाख, ग्रामीण विकास लघुवित्तले ३ करोड ६४ लाख, प्रभू बैंकले २ करोड ५८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ४७ लाख, एनएमबी बैंकले २ करोड २७ लाख, एनसीसी बैंकले १ करोड ८९ लाख, नेपाल बैंकले १ करोड ७९ लाख र इन्भेष्टमेन्ट बैंकले १ करोड ६९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन वोमी माइक्रोफाइनान्सको बम्पर लाभांश वितरणको अफरमा लगानीकर्ता झुम्मिए । कम्पनीको सेयरमा उच्च खरीद चाप भएका कारण मूल्यमा १० प्रतिशत हाराहारीको बढोत्तरी भई सर्किट लाग्यो ।

एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले यो दिन ७.१४ प्रतिशतले सम्पत्ति बढाए ।

न्यून नगद लाभांश वितरणको प्रस्तावले नेको इन्स्योेरेन्सको सेयर बिक्री गर्नेको संख्या धेरै देखियो । फलस्वरुप यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।