काठमाण्डौ । निषेधाज्ञाका कारण कर्जा लगानीको तुलनामा निक्षेप बढेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्न थालेको छ। 

नेपाल राष्ट्र बैंकका नायब प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार गत शुक्रबार (जेठ ७ गते) सम्म बैंकिङ प्रणालीमा ६२ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। यसअघि जेठ ५ गतेसम्म ५४ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो। 

बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँभन्दा बढी रहेकोमा तरलता सहज रहेको मान्न सकिन्छ। त्यसैले प्रणाली तरलता बढ्न थालेको पछिल्लो तथ्यांकले प्रस्ट देखाउँछ। ‘अहिले निषेधाज्ञाका कारण बैंकहरुको कर्जा परिचालन सामान्य घटेको छ’, उनले भने, ‘अन्य विभिन्न स्रोतबाट प्रणालीमा आउने रकम बढेको छ। जसका कारण तरलता सहज बनेको छ।’

गत शुक्रबासम्म बैंकले कुल ४० अर्ब ६७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। ‘कुल निक्षेप ४४ अर्ब ७० करोड रुपैयाँ रहेको छ’, उनले भने। 

पोखरेलका अनुसार पुनरकर्जाको १ खर्ब २३.१४ अर्ब बैंकहरुले लगिसकेका छन्। ‘पुनरकर्जाको स्वीकृति रकम १ खर्ब ४५ अर्ब ८० करोड रुपैयाँ हो, अब २२ अर्ब बढी रकम बैंकहरुले लैजान बाँकी रहेको छ’, उनले भने। 

पोखरेलका अनुसार अन्तरबैंक व्याजदर पनि ह्वात्तै घटेको छ। गत वैशाख २६ गते ४.८ प्रतिशत पुगकेो अन्तरबैंक ब्याजदर घटेर गत शुक्रबार ०.८ प्रतिशतमा झरेको छ। कर्जा लगानी घट्दा बैंकलाई पैसा आवश्यक नहुँदा अन्तरबैंकिङ ब्याजदर घटेको पोखरेलले बताए।