काठमाण्डौ । लामो समयको निषेधाज्ञा केही खुकुलो पारिएपछि अर्थतन्त्र पुनः चलायमान हुने आशा गरिएको छ। जनजीवन र व्यापारव्यवसाय केही सहज हुने भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन र कर्जा लगानीको अवस्थासँगै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्ने प्रभावका विषयमा जिज्ञासा उठ्न थालेको छ। 

हाल बैंकिङ प्रणालीमा ३८ अर्ब ९७ करोड रुपैयाँ तरलता देखिन्छ। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञाबीच प्रणाली यति तरलता रहनुलाई सकारात्मक नै मान्नुपर्ने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए। ‘योबाहेक पनि बैंक तथा वित्तीय संस्थाहरुको भल्टमा लगानीयोग्य नगद मौज्दात पनि हुन्छ’, उनले भने, ‘यसले गर्दा तरलतामा खासै दबाब पर्ने देखिँदैन।’ 

पोखरेलले पुनरकर्जाको रकम पनि धमाधम गइरहेको तरलताको अवस्था सहजै रहेको अनुमान गर्न सकिने बताए। ‘पुनरकर्जाको १ खर्ब ४६ अर्ब रुपैयाँ स्वीकृत भएकोमा १ खर्ब ३५ अर्ब रुपैयाँ बैंकहरुले लगिसकेका छन्’, उनले भने, ‘बाँकी ९ अर्ब पनि छिटै लानेछन्।’

चालु आर्थिक वर्षको हालसम्म बैंक तथा वित्तीय संस्थामा ४५ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको देखिएको छ। हाल सीसीडी रेसियो ७८.५ प्रतिशत रहेको छ। 

हाल अन्तरबैंकिङ ब्याजदरमा भारी वृद्धि भएको देखिन्छ। केही समयपहिले १ प्रतिशतभन्दा तल रहेको यस्तो ब्याजदर बढेर ४.८२ प्रतिशत पुगेको छ। ‘बैंकहरुको ब्याजदरमा तत्काल फेरबदल हुन्छ वा हुँदैन भन्ने अवस्था अहिले छैन’, उनले भने।