काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अपरिचित व्यक्तिबाट ह्याकिङको चेतावनी पाएका सबै बैंकको प्रणाली सुरक्षित रहेको जनाएको छ।

अपरिचित व्यक्तिबाट बुधबार राति फोन र इमेलमार्फत नेपाल राष्ट्र बैंकसहित १४ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चार्ने धम्की दिइएको थियो। ह्याकरहरुले पठाएको इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डू, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाम उल्लेख छ । इमेलमा २४ घन्टाभित्र ह्याक गर्ने धम्की दिइएको छ।

ह्याकिङको धम्कीसहित इमेल पाएका राष्ट्र बैंक र अन्य बैंकहरुको प्रणाली सुरक्षित रहेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । ‘हामीले आफ्नो र सबै बैंकको प्रणाली परीक्षण गर्दा सबै ठिक पायौँ’, उनले भने, ‘बैंकहरुले पनि प्रणाली सुरक्षित नै रहेको जानकारी गराएका छन्।’ 

नेपाल राष्ट्र बैंकसहित चल्तिका १४ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने भन्दै बुधबार बेलुकी धम्की आएको थियो । अपरिचत व्यक्तिबाट फोन र इमेलबाट राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सूचना अधिकारी नारायण प्रसाद पोख्रेललाई धम्की आएको राष्ट्र बैंकले जनाएको छ।

निजी बैंकका अधिकारीहरुले भने यस्ता धम्कीहरुको नेपाल राष्ट्र बैंकले गहन अनुसन्धान गर्नुपर्ने बताएका छन्।