काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम सञ्चालन गरेको छ। 

घरदैलो कार्यक्रममा बैंकिङ कारोबारसम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैंकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणालीमार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्नेलगायतका बैंकिङ सेवासम्बन्धी जनचेतना जगाउने काम गरिएको थियो। 

यो कार्यक्रममार्फत अझ सरल र सहज तरिकाले ग्राहक तथा सर्वसाधारण जनतामाझ पुगेर उनीहरुलाई बचत गरी भइपरी आउँदा यसबाट हुने फाइदा, नयाँ प्रविधिको प्रयोग गरी बैंकिङ करोबार गर्न जानेको अवस्थामा हुने सहजता तथा सहुलियतपूर्ण कर्जालगायतका बारेमा समेत विस्तृत रुपमा जानकारी गराइएको थियो। यस्तो कार्यक्रम विशेषगरी ग्रामीण क्षेत्रका जनसमुदायलाई लक्षित गरी आयोजना गरिएको बैंकले जनाएको छ। 

कार्यक्रममा मुलुकभर फैलिएका बैंकका ९६ वटै शाखा कार्यालयबाट गरिएको र अभियानमा बैंकका कर्मचारीहरुको समेत उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको बैंकको भनाइ छ। कार्यक्रम निकै प्रभावकारी देखिएकाले यस्तो अभियानलाई निकट भविष्यमा पनि सञ्चालन गर्ने बैंकको योजना रहेको सांग्रिला बैंकको बजार विभाग प्रमुखले जानकारी दिए। 

बैंकले सञ्चालन गरेको यस घरदैलो सेवा कार्यक्रमबाट बैंकका ग्राहकलगायत सर्वसाधारण पनि लाभान्वित हुने बैंकको विश्वास छ।