काठमाण्डौ । अमेरिकामा बढ्दो महँगीलाई नियन्त्रण गर्न फेडरल रिजर्भले फेरि एकपटक ब्याजदर बढाएको छ। 

नीतिगत दरमा यो लगातार १० औँ वृद्धि हो। यसपछि ब्याजदर २५ आधार विन्दु अर्थात ०.२५ प्रतिशतले बढाइएको छ। 

अमेरिकी केन्द्रीय बैंकको यो निर्णयपछि अब ब्याजदर ५ प्रतिशतबाट ५.२५ प्रतिशत पुगेको छ। जुन १६ वर्षकै उच्च हो।

देशमा बैंकिङ संकट उत्कर्षमा पुगेका बेला अमेरिकी फेडले ब्याजदर बढाउने निर्णय गरेको हो। अमेरिकामा तीन ठूला बैंक डुबेका छन् भने मन्दीको डर पनि बढ्दै गएको छ। 

बढ्दो महँगी नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले सन् २०२२ को मार्चदेखि नै ब्याजदर बढाउने प्रक्रिया सुरु गरेको थियो। जुन अहिलेसम्म रोकिएको छैन। यद्यपि, ब्याजदर २५ आधार विन्दुले बढाउँदै फेड रिजर्भ प्रमुख जेरोम पावेलले अब यो गतिमा ब्रेक लगाउने संकेत गरेका छन्।

उता अमेरिकामा बैंकिङ संकट गहिरिँदै गएको छ। बैंक तथा विज्ञहरुले यसअघिको फेडको बैठकमा ब्याजदर वृद्धि रोक्ने संकेत दिएका थिए र अब ब्याजदर वृद्धिलाई रोक्न सुझाव दिएका थिए। किनकि बैंकहरुले धेरै नोक्सान भोगिरहेका छन्। 

रिपोर्टका अनुसार अमेरिकाका १८० भन्दा बढी बैंक संकटको सामना गरिरहेका छन्। संघीय नीति दर भनेको केन्द्रीय बैंकले अमेरिकामा बैंक तथा वित्तीय संस्थालाई ऋण दिने दर हो। यो वृद्धिले उपभोक्ता र व्यवसायीलाई ऋण लिन महँगो हुनेछ।

गत मार्च महिनामा दरको उचाइ घोषणा गर्दै फेड प्रमुखले ब्याजदर फेरि बढाउन सक्ने संकेत दिए। उनले महँगी अझै उच्च रहेको र श्रम बजार निकै सुस्त रहेको बताए। उनले भने, ‘उच्च मुद्रास्फीतिका कारण हुने कठिनाइलाई मेरा सहकर्मी र म राम्ररी बुझेको र यसलाई २ प्रतिशतको लक्ष्यमा पुर्याउन हामी दृढताका साथ प्रतिबद्ध छौँ।’ –एजेन्सी