काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंक अफ काठमाण्डू लिमिटेडले १ अर्ब १६ करोड रुयैयाँ खुद नाफा आर्जन गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्मको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ३३.८६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा भने ८५ करोड ६९ लाख रुपैयाँ रहेको छ। 

गत वर्षको यही अवधिसम्मको तुलनामा बैंकको सञ्चालन मुनाफा ३५.५४ प्रतिशतले बढेर १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो मुनाफा १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १८.१६ प्रतिशतले घटेर २ अर्ब ३५ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो। 

यो अवधिमा बैंकले ९६ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ७७ करोड रुपैयाँ नै कर्जा लगानी गरेको छ। गत वर्ष बैंकले ९२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको रिजर्भको आकार १३.८२ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ४ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा दर १.५३ प्रतिशतबाट घटेर १.०१ प्रतिशतमा सीमित बनेको छ। आधार दर ९.३३ प्रतिशतबाट घटेर ७.६० प्रतिशतमा सीमित बनेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १६.१४ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस १३.६३ रुपैयाँ थियो। पीई रेसियो १९.७०६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने १६५.४५ रुपैयाँ रहेको छ।