-नरेन्द्रकुमार नगरकोटी

आज म मेरो ऋण खण्डमा कन्फेस गर्छु । कतिपयले पत्याउनुहुन्न मेरो ऋण छ भन्ने कुरा । कतिपय भने आत्तिनुहुन्छ मेरो ऋणको रकम सुनेर । आज म ऋण कहानीका खण्डहरु सुनाउँछु ।

बैंकमा कसको पैसा हुन्छ ? सहकारी, वित्तीय संस्था या फाइनान्समा कसको पैसा हुन्छ ? आफ्नै त होइन । डिपोजिट गर्नेहरुको पैसा हुने हो । अनि, व्यवसाय गर्नेहरुले कतै न कतैबाट पैसा खोजेर आफ्नो व्यवसायमा लगानी गरेका हुन्छन् ।

चल्ने अरुकै पैसाबाट रहेछ । त्यही पैसा हो ऋण । 

व्यवसायले सास फेर्न पैसा चाहिन्छ । आफूसँग नभए वा भए पनि खोजतलास गरिन्छ, फिर्ता गर्दाको बखत थपेर दिने बाचा गरेर पैसा लिइन्छ, अर्थात् ऋण । ऋण लागोस् तर दिन नलागोस् भन्छन् नि । तर कहिले ऋण लागेर डुबेको पनि सुनिन्छ, देखिन्छ । भोग्न नपरोस् भन्ने छ ।

मैले ऋण लिन सुरु गरेको त्यो समयमा हो जति बेला म जागिरे थिएँ । निजी स्रोत शिक्षकको रुपमा सरकारी स्कुलमा पढाउँथेँ । त्यस बेला त्रिवेणी भन्ने पत्रिका निकाल्थेँ । ६ अङ्कसम्म प्रकाशन भएर त्यसले अगाडि बढ्न सकेन । अनि, पत्रिकामा विज्ञापन प्रकाशन हुन्थे, टन्नै । पत्रिकाको खर्च धान्न पुग्ने । तर विज्ञापनको पैसा उठाउन अल्छी गरिन्थ्यो । अनि तलब थापेर प्रेसखर्च तिरिन्थ्यो । अलिअलि रकम पत्रिका बिक्रीबाट पनि प्राप्त हुन्थ्यो ।

एक समय पैसा आवश्यक परेको थियो । गाउँको सहकारीमा मैले ऋण लिने सल्लाह गरेँ । मसँग धितो राख्न मिल्ने केही पनि थिएन । तर पनि विश्वासका आधारमा मलाई रु. २५ हजार ऋण प्रदान हुने भयो । मैले पैसा पाएँ ।

त्यो पैसाले त्यतिबेला आफ्नो गर्जो टारेँ ।

पैसाको नियमित किस्ता तिर्न सकिँन । व्यवस्थापन मिलाउन पनि जानिँन । अनि, ऋणको ज्यान मोटाउँदै गयो । बेलाबेला केही रकम तिर्थेँ पनि । तर, जति तिरे पनि लिएको भन्दा बढी नै तिर्न बाँकी रहने । त्यो क्रम जारी रह्यो । ऋण मोटाएर एक लाख पनि नाघ्यो । धेरैपल्ट त्यसको मोटोपनलाई घटाएँ ।

तर जति गर्दा पनि नियमित नहुँदा मोटाउने क्रम नै प्राथमिकतामा परेको जस्तो भयो । पटकपटक जस्तै आजको दिनमा फेरि पनि लाख नाघेको छ ।

यस्तो कसैको नहोस् ।

म ऋण लिन हिम्मत गर्न सक्ने भएँ । 

ऋणले ऋणकै हिम्मत बढायो । 

बनेपामा एउटा स्कुलमा लगानी गर्ने सल्लाह भयो । खल्ती रित्तो थियो । बैंक खाता खोलिएकै थिएन ।

सहकारीले अलिअलि पैसा दिन सकिन्छ भन्यो । तर चाहिने धितो ।

दाजुलाई मनाएँ । दाजुको घर धितो राखेर लिएँ ऋण ।

तिर्न सकिँन । फोन पो आयो । अध्यक्षबाटै पो ।

फोनमा उनले भने, अब त तपाईंको नाम पनि पत्रिकामा आउने भयो । के गर्ने सर ?

मैले अन्यथा मानिँन र भनेँ, दाजु मेरो नाम पत्रिकामा आइरहेकै हुन्छ । अब तपाईँले पनि छापिदिनुहुन्छ भने मेरो भन्नु केही छैन । म बेइमान भएको होइन, नसकेको हुँ । सकेको बेलामा तिर्ने नै छु ।

यो ऋण कथाले केही पारिवारिक, सामाजिक तरंग ल्याएको थियो। यसको बाँकी कथा कुनै समय सुनाउन लायक नै छ ।

बनेपामै अरु सहकारीबाट पनि ऋण लिएँ । ऋण लिन सजिलो हुन्छ, तिर्न मुश्किल पर्छ । हाम्रो कल्चर कस्तो छ भने, खर्च गर्न ऋण लिने न कि लगानी गर्न वा व्यवसाय गर्न । मैले पनि त्यस्तो गरेको छु, धेरैपल्ट । ऋण तिर्न पनि ऋण लिएको छु । पैसाको चलखेल मात्र । ब्याज र सेवाशुल्कको आम्दानीका लागि एक्टर हामी बन्छौं, बस् त्यत्ति हो । उपलब्धि फिल गर्न सकेको छैन मैले ।

कसैलाई यसो पनि भन्न परेको छ । तपाईंलाई लाग्छ कि नरेन्द्रले पैसा तिर्दैन भने, सम्झिनूस् तिर्दैन । अब के गर्नुहुन्छ ? सकेको गर्नुस् । 

यस्तो कथा भएका ठाउँहरुमा ऋण चुक्ता भइसकेको छ ।

काठमाडौंमा पनि कारोबार गरिरहेको छु । व्यक्ति र सहकारीले थोरै ऋण पत्याएका छन् ।

बैंकले पत्याएन ।

वा, भनौं बैंकसँग कारोबार गर्न मेरो हैसियत बनिसकेको छैन । कहिले लाग्छ, बैंक हामीजत्तिको केही काम गर्न खोज्नेहरुका लागि नै होइन । के बैंक पनि पैसा किनेर बेच्न बसेको पसल मात्र हो र ? जहाँ सम्पत्ति धन हुनेले मात्र किन्न सक्छ पैसा । र, मनि अट्रयाक्ट्स मनिको अनुभव सत्य सावित गर्छन् । हामी चाहिँ भए बचत गर्ने नभए खातासम्म खोल्ने मात्र ।

सहुलियत ऋणको कहानी छ मेरो ।

म योग्य भएँ । मसँग सबै प्रमाणपत्रले ऋण लिन सक्ने छस् भन्यो । तर समस्या के भयो भने मैले मेरो पारीवारिक नातामा रहेकाहरुलाई धितो राख्नुपर्ने । एकजना होइन, सबैजना । मानिसलाई धितो राख्ने भए, म स्वयम् छु नि । मेरो भरोसा छैन भने नातेदारको चाहिँ कसरी भरोसा हुन्छ ?

सरकारी प्रावधानले सोझसिधा र सामान्य जनतालाई गरिखान दिने केही गरेको पाउँदिन ।  क–कसलाई कहाँ–कहाँबाट कसरी झिकाउँ म र धितो जमानी राखुँ आफन्तजनलाई ? मैले त्यो अवसरलाई छाडिदिएँ ।

धितो राख्न ज्यानबाहेक केही छैन । छ भनुँ भने सीप छ, अनुभव छ, गरिरहेको कामहरु छन् । यसको कतै काम नलाग्ने भएपछि फेरि मैले ऋण लिएँ । व्यक्तिसँग । अब व्यक्तिसँग ऋण लिँदाको ब्याजदर, अप्ठेरा, सहजताका बारेमा के बताउँ ? यतिखेर केवल प्रश्नैप्रश्नले थिचिएको अवस्थामा छु ।

मात्र प्रश्न गर्न मन लाग्छ, बैंक कसका लागि हो ?