-मनोज न्यौपाने(डेपुटी सीइओ)
सेञ्चुरी कमर्सियल बैंक लिमीटेड

यसपटकको मौद्रिक नीतिलाई सबै क्षेत्रले स्वागत गरेका देखियो । बैंकिङ क्षेत्रका लागि चाहिँ यो मौद्रिक नीति कत्तिको सुखद रह्यो ?
बैंकिङ व्यवसाय त्यतिबेला मात्र चल्छ, जतिबेला व्यापार व्यवसाय चल्छ । अहिले व्यापारी व्यवसायीले मौद्रिक नीतिका कारण राहात महसुस गरेको अवस्था छ । यसले बैंकहरुलाई पनि राहात नहुने कुरै भएन । 

निकै प्राक्टिकल बेसिसमा आएका कारण पनि योपटकको मौद्रिक नीतिलाई सबैले स्वागत गरेका हुन् । मेरो विचारमा परिस्थिति सुहाउँदो सान्दर्भिक मौद्रिक नीति आएको छ । 

आजको दिनमा मानिसहरु कोभिड १९ सँगै बाँच्न अभ्यस्त हुन थालेका छन्, लिभिङ टुगेदर रिलेसनसीपजस्तो । बाँच्नै पर्यो, हिडँ्नै पर्यो । त्यसकारण अर्थतन्त्र पनि चलायमान बनाउनैपर्छ । यो स्थितिमा अर्थतन्त्रमा प्रवाह गर्नुपर्ने तरलताको भूमिका महत्वपूर्ण हुन्छ । 

हामीले कुनै व्यापार व्यवसाय गर्छौ भने त्यहीअनुसारको सेल्स गरिरहेका हुन्छौं र त्यही अनुसारको क्रेडिटमा पनि सामान लिइरहेका हुन्छौं । तर, जतिबेला अर्थतन्त्र समस्यामा पर्छ, व्यापारलाई रिभाइटलाइज गर्नका लागि फेरि पैसा चाहिन्छ । अर्थतन्त्रमा रहेका र अर्थतन्त्रमा पैसा सप्लाई गर्ने वा क्रेडिट सप्लाई गर्ने प्लेयर्सहरु जो हुन्छन्, उनीहरुसँग पैसा हुन जरुरी छ । पैसा उपलब्धताका लागि जे–जे डाइभर्सहरुको आवश्यकता थियो, अहिलको मौद्रिक नीतिले त्यो–त्यो ल्याइदिएको छ । यहीकारण यो स्वागतयोग्य छ।

अहिलेको मौद्रिक नीतिले निजी क्षेत्रदेखि बैंकसम्मका समस्याहरुलाई समाधान गर्यो कि पर सार्ने काम मात्र भयो?

-पर सार्दै समाधान गर्यो । हिजोको दिनमा जसरी व्यापार व्यवसाय हुन्थ्यो, आजको दिनमा त्यस्तो व्यापार हुनैसक्दैन । यसको अर्थ स्पीड ब्रेक भएको अवस्था हो अहिले । व्यापार व्यवसाय र आर्थिक गतिविधि डिसकन्टीन्यू भएको होइन, ब्रेक मात्र भएको हो । जसरी हामीले गाडी चलाउँदा एक नम्बर गियरपछि २ नम्बर गियर फेर्छौ, त्यतिबेला केही समय चाहिन्छ । अर्थतन्त्रको गियर परिवर्तनका लागि आवश्यक त्यस्तै टाइम चाहि मनिटरी पोलिसीले दिएको छ । 

यसपटकको मौद्रिक नीतिले बैंकिङ उद्योगमा पार्नसक्ने सकारात्मक वा नकारात्मक प्रभावहरु चाहि के–के हुन् ?
-मैले पहिला नै भनिसकेको थिएँ, अहिलेको परिवेशमा अर्थतन्त्रका क्रेडिट डाइभर्सहरुलाई एम्प्लीफाई गर्ने र क्रेडिट दिनसक्ने क्षमता बढाउन जरुरी थियो । त्यसका लागि राम्रो मौद्रिक नीति आयो । यसका लागि सीसीडी रेसियो ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्याइयो । त्यसमा पहिला दिइएको एड्जस्टमेन्टहरुलाई रिभ्यू गरिने भनिएको छ। त्यो एड्जस्टमेन्ट भनेको गभरमेन्ट अकाउण्टको कुरा गरेको होला, यस्तै सायद २ प्रतिशत फिक्स्ड डिपोजिटको कुरा गरेको होला । तर, त्यही भएता पनि इफेक्टिभको हिसाबले आउने हो भने ८३ प्रतिशतको रेञ्जमा सीसीडी रेसियो पुग्ने भयो । यसरी हेर्दा झण्डै ८०० अर्बको अतिरिक्त तरलता सिर्जना भयो । त्यो पैसा बजारमा जाने भयो । यसले बैंकलाई सहज बनायो । 

दोश्रो, विजिनेश ग्रोथ गर्नलाई नेपालमा के जरुरी थियो ? ब्याजदर घट्न जरुरी थियो । जब तपाईसँग बैंकमा तरलता बढ्छ, ब्याजदर अटोमेटिक घट्छ । बिस्तारै अटोमेटेड सिस्टममा मुभ भयो । 

तेश्रो, रेगुलेटेड फ्रेमवर्क आयो । तपाईहरुले ४.४ प्रतिशतको स्प्रेड मेन्टेन गर्नुपर्छ भनिएको छ । यतापट्टि ब्याजदर घट्ने भयो अधिक तरलताका कारणले । उतापट्टि ४.४ प्रतिशतको मात्रै एभरेज स्प्रेड मेन्टेन गर्नु परेपछि बैंकहरुलाई रेगुलर ब्याजदर घटाउने स्थिति आइलाग्यो । यसले व्यापारी वर्गलाई सहयोग गर्यो।

चौथो, एकदमै क्रूसियल सेक्टरलाई पनि राहात दियो । टोटल विजिनेशलाई ३ वटा भागमा डिभाइड गरिदिएको छ । एउटा भनेको कम प्रभावित, अर्को भनेको मध्यम प्रभावित र अर्को भनेको अति प्रभावित । अपेक्षाअनुसारको सम्बोधन भएको छ । कसैलाई २ वर्षको समय दिइयो, कसैलाई ६ महिनाको र कसैलाई ३ महिनाको समय दिइएको छ । 

बैंकहरुले प्रोफिट्याबिलिटी एनएफआरएसमा निकाल्ने, डिभिडेन्ट डिक्लेयरेन्स चाहि वितरणयोग्य मुनाफा भनेर रियलाइजेसनको आधारमा आउने गथ्र्यो । आजको दिनमा लाभांशलाई लिएर सेयरहोल्डर सबै डराएका थिए, सेयर मार्केटमा पनि ८० प्रतिशत पूँजीकरण बैंकहरुको छ, त्यो क्षेत्र प्यानिक बन्ने अवस्था थियो । ८० प्रतिशत पूँजीकरण होल्ड गर्ने कम्पनीहरुमै प्रोफिट्याबिलीटी नहुने अवस्था भएपछि सेयर बजार पनि डाउन हुने अवस्था थियो । अहिले ३ महिनाको टाइमफ्रेम दिइएको छ, ३ महिनाभित्रमा ब्याजदर त तिर्न सक्छन् भन्ने खालको एस्पेक्ट आयो । यसले सेयर बजारको प्राइस पनि बढाउनसक्ने अवस्था सिर्जना गरिदिएको छ । 

अर्को, मौद्रिक नीतिले एभिन्यूजहरु खोलिदियो । जुन बैंकहरु कर्पोरेट लेभलमा गइरहेका थिए, तिनीहरुलाई एसएमईको लेभलमा जानुहोस्, व्यवसायीहरु उत्पादन गर्नुहोस्, व्यवसायिकता सिर्जना गर्नुहोस् भनियो । योभन्दा पहिला तपाईहरुले ग्रामीण र विकट भेगमा शाखा खोलेर जानुहोस् भन्ने थियो । अहिले आएर गाउँ गाउँमा व्यवसायिकता क्रियट गर्र्नुहोस् भन्ने खालको नीति आयो । अब बैंकहरुले एसएमई लोनको ब्याजदर घटाएर जान्छन् । व्यवसायिकतालाई फोकस गरेर जान्छन् । 

प्राक्टिकल्ली जे चाहिने थियो, त्यही खालको पोलिसी आएको छ । बुझेर र आजका दिनको आवश्यकता यी–यी हुन् भन्ने निक्र्यौल गरी मौद्रिक नीति आएको छ । मौद्रिक नीतिले बैंकहरुका लागि अवसरका ढोकाहरु पनि खोलिदिएको छ । 

प्रणालीमा त्यसै पनि अधिक तरलता छ । सीसीडीबाट थप तरलता सिर्जना हुने अवस्था पनि आयो । पैसा फालाफाल भएकै बेला लगानीका क्षेत्र संकुचित छन् । अबको बैंकिङ क्षेत्र कसरी अगाडि बढ्छ ? 
-नेपालमा बैंकिङ व्यवसाय शहरकेन्द्रीत भएर अगाडि बढिरहेको अवस्था छ । यो स्थितिमा सिटी एरियामा एक–डेढ करोडको लोन भनेको ठूलो लोन होइन, मानिँदैन । अब रुरल ब्राञ्चिफिकेसन(ग्रामीण क्षेत्रमा शाखा बिस्तार कार्य)लाई ध्यान दिनुपर्छ । 

दोश्रो, नेपाल सरकार आजको दिनमा करको इस्यूमा अलर्ट भएर बसेको छ । जति पनि अनौपचारिक च्यानलबाट व्यापार व्यवसाय भइरहेका थिए, त्यसलाई औपचारिक बनाएर जाने भन्ने खालको कुराहरु आए । त्यसले गर्दा सबैलाई करमा दर्ता हुन अभिप्रेरित गरेको छ । 

फर्मल च्यानलभित्र आएकाहरुलाई बैंकबाट एसएमई लोन प्रवाहका लागि सहज बनाइदिने गरी मौद्रिक नीतिले राम्रो व्यवस्थापन गरिदिएको छ । 

यस्तो बेलामा हाम्रो इकोनोमीमा पम्पिङ इफेक्ट जरुरी थियो । चलायमानबाट स्टप भएकोले एकैपटक चलायमान बनाउनका लागि हामीले फण्ड पम्प गर्नुपर्छ । एउटा डाइभर्सिफिकेसनको एस्पेक्ट्सलाई जेनेरेट गर्यो त्यसले । 

क्यापिटल एडेक्वेसीका पार्टहरुमा पनि धेरै वेभर्सहरु आए । काउण्टर साइकलको बफर हट्यो, अपरेसन रिस्कमा राखिएको वेटेजहरुलाई माइनस गरियो । अपब्यालेन्सिङ आइटमहरुमा पनि रिभ्यू गर्छौ भन्नु भएको छ । यी जति पनि एस्पेक्ट्सहरुले बैंकहरुलाई स्ट्याण्डर्डराइज फर्मेटमा लिएर गए । अलिकति माथिको लेभलमा लिएर गए । 

उसो भए अब व्यापार व्यवसाय कतातिर जाला त ? व्यापार व्यवसाय अब एसएमई लेण्ङिगमा जाने भयो । व्यापार व्यवसाय अब डेभलपमेन्ट र हाउजिङको पार्टमा जाने भयो । 

कोभिडको बीचमा मानिसलाई के सिकाइदियो भने बैंकहरुमा नआई पनि व्यापार वा बैंकिङ हुनसक्छ । जसलाई हामी डिजीटलाइजेसन भन्छौ । सम्पर्कबिना सेवा लिने । बैंकहरुको बीचमा डिजीटलाइजेसनको एउटा विङ नै खडा गरेर जाने विषयमा सोच बन्न थालिसकेको छ । यसका कारण अब तपाईले घरमै बसेर काम गर्न पाउनुहुन्छ भने किन बैंक आउने ?

योसँगै कन्ट्रोल मेजर्सको पनि जरुरत भयो । नेशनल स्वीच डेभलप गर्ने विषय यसैकारण आएको हो । 

आजको दिनमा बैंकिङ सेक्टरलाई अर्को लेभलमा ग्रोथ गर्नका लागि चाहिने र ग्राउण्ड लेभलमा रहेका कस्टूमरहरुलाई सर्भिस दिनका लागि अभिप्रेरित गर्ने खालको मौद्रिक नीति आएको हो । 

यो समयमा विजिनेश र व्यवसायको प्रकृति पनि नीतिअनुसार नै परिवर्तन हुँदै जाने हो । अब आउने दिनमा एक नम्बर एसएमई लोन बढी जान्छ, दोश्रो कृषि कर्जा, तेश्रो हाइड्रोमा जान्छ । हाइड्रोमा अस्ती हटाएको थियो, अहिले १० प्रतिशत भनेर तोकियो । चौथो नम्बरमा सब्सिडाइज लोनहरु जाने भए । पाँचौ नम्बरमा डिजीटलाइजेसनका कुराहरु आए । यी ५ वटा क्षेत्रकै बीचबाट बैंकहरु अब अगाडि बढ्छन्। 

तपाईको प्रोजेक्सनमा ब्याजदर कतिसम्म आइपुग्ला ? 
-सिंगल डिजीटमा आउँछ । तर, ब्याजदर भन्नेबित्तिकै इन्फ्लेसन कुरा पनि सँगसँगै आउँछ । नेपालको सन्दर्भमा नमिलेको भनेको इन्ट्रेस्ट रेटसँगै इन्फ्लेसन प्रिमियम आइरहेको छैन । तर पनि धेरै तल चाहि नजाला, एकदुई प्रतिशत ब्याजदर अझै घट्छ । 

मौद्रिक नीतिमार्फत बैंकका सीइओ तथा उच्चपदस्थ कर्मचारीको तलबमा पुनरावलोकन गर्ने भनिएको छ । सेवाशुल्क पनि तोकिएको छ । यी दुई विषयमा माइक्रोम्यानेजमेन्ट नगरेको भए पनि हुन्थ्यो भन्नेहरु पनि छन्, तपाईको विश्लेषण के हो ?
यसमा प्रोसेसिङ फिसको कुरा आयो । बैंकको अगाडि कमर्सियल नाम हुन्छ । बैंक प्रफिट ओरिएन्टेड अर्गनाइजेसन नै हो । सामाजिक उत्तरदायीत्व पनि रहेको कमर्सियल अर्गनाइजेसन हो बैंक । कतिपय माल प्राक्टिसेसका कारण पनि यस्तो भएको हो । कतिपय साथीहरुले यसमा गलत अभ्यास गरेका कारण पनि यो आएको हो भन्ने लाग्छ । 

दोश्रो, जतिखेर राष्ट्रबैंकबाट स्प्रेडलाई मेन्टेन गर भन्ने निर्देशन आयो । बैंकहरुले ब्याजदर घटाए, तर सेवाशुल्क बढी लिन थाले । किनभने स्प्रेडमा इन्ट्रेस्ट इनकम मात्र आउने भयो, प्रोसेसिङ फि आएन । ग्राहकलाई रिबेट दिन खोजेको हो भन्ने एस्पेक्टबाट त्यो आएको हो जस्तो लाग्छ । 

सीइओ र उच्चपदस्थ  कर्मचारीको तलबको इस्यू चाहि फ्रि इकोनोमीमा हुनुपर्छ जस्तो लाग्छ मलाई । सीइओ भनेको ३–४ वटा एस्पेक्ट्सबाट, टोटल अर्गनाइजेसन रिसोर्स डेभलप गर्नलाई, फ्यूचरको डेभलप गर्नलाई, र त्यहाँभित्र प्रोफेसनालिजम डेभलप गर्नलाई, कम्प्यालन्यसलाई प्रपर्ली रुल गर्नलाई आवश्यक पर्छ । सीइओ तथा उच्चपदस्थ कर्मचारीहरुको सेवासुविधा रिभ्यू हुने भनिएको छ । अब रिभ्यू गर्ने भनेको तलदेखि माथिसम्मको ग्याप बढी भयो कि भन्ने एस्पेक्ट्सहरु हुनसक्छन् । त्यसमा केही रिभ्यूहरु हुन्छ होला, तर यसबाट ठूलो प्रभाव पर्छ जस्तो लाग्दैन ।

वाणिज्य बैंकहरु पनि भोलिका दिनमा एसएमईमा जाने भए । वाणिज्य बैंकको आधार दर कम भएपछि ब्याजदर पनि कम अफर गर्नसक्ने भए । यिनै साना लोनमा आधारित रहेर विजिनेश चलाइरहेका साना वित्तीय संस्थाहरुको आधार दर बढी हुन्छ र उनीहरुको ब्याजदर पनि बढी हुन्छ । त्यसो हुँदा त्यस्ता साना संस्थाहरुका लागि चाहि यो नीति चुनौति बन्न सक्दैन ? बाँच्नै नसक्ने अवस्था पो आउँछ कि ? कम आधार दर भएका वाणिज्य बैंकसँग बढी आधार दर हुने साना वित्त कम्पनीहरुले कसरी प्रतिस्पर्धा गर्ने ?
-यस्तो अवस्था नहोला । सबैले विजिनेश ग्रोथलाई ध्यान दिनुपर्छ । हाम्रो इकोनोमीमा २० प्रतिशतले लेण्डिङ इन्क्रिज हुन्छ भन्ने प्रोजेक्सन भएको छ । कमर्सियल बैंकले गरेको इन्क्रीमेन्ट अनुमान पनि २० प्रतिशतकै छ । भनेको बजार साइज नै २० प्रतिशतले बढेको छ भने त्यो सबैजना २० प्रतिशतभित्र अकुपाई भइहाल्छन् भन्ने हो । यो व्यवस्थाले ग्रामीण भेगहरुमा जसरी सहकारीहरु गइरहेका थिए, उनीहरुलाई चाहि गाह्रो हुनसक्ला । राज्यमा कसै न कसैले व्यावसायिक रुपमा त अगाडि बढ्नैपर्ने हुन्छ । एक कक्षाको विद्यार्थी २ मा गएको, २ को ३ मा गएको कुरा जस्तै हो यो । स्कूलमा बच्चा नै आउन बन्द हुने भन्ने त हुँदैन । यो त नर्मल कुरा हो । ठूलो प्रभाव पर्छ जस्तो लाग्दैन । 

मौद्रिक नीतिले समग्र अर्थतन्त्रमा सानै भए पनि भाइव सिर्जना गरिदियो । तर, कोभिडको प्रभाव कहिलेसम्म रहन्छ भन्ने विषयमा यसै भन्न सकिने अवस्था अझै बनिसकेको छैन । यो अन्यौलका बीच देशकै कान्छो वाणिज्य बैंकको अबको बाटो के हो ?डिजीटलाइजेसनमा कसरी अगाडि बढ्ने सोच बनाउनुभएको छ ?
-सेञ्चुरी बैंकका लागि अहिलेको समय निकै फेभरेवल छ । बजार लिक्वीड छ । हामीकहाँ भएका स्ट्रेन्थ भनेको डिजीटलाइजेसनमा अगाडि बढ्नु हो । मोवाइल बैंकिङमा अगाडि बढिसकेका छौ । लङटर्म रणनीतिमा ब्राञ्चहरुको स्थानीयकरण गरेर अगाडि बढिरहेको अवस्थामा सेञ्चुरी बैंक अघि भनेको सेक्टरमा पनि जान्छ । नयाँ प्रडक्ट विकास गर्छौ । अनलाइन कार्ड पेमेन्ट्सहरु विकास गरिरहेका छौं । अनलाइन अकाउण्टमा गइसकेका छौं । पेपरलेस बैंकिङ पनि गरिरहेका छौं । ११३ वटा शाखा लोकलाइजेसन भएर अगाडि बढ्छ । एसएमईमा केन्द्रीत हुनुपर्छ । कोर बैंकिङ सिस्टम पनि परिवर्तन गर्ने निश्कर्षमा पुगेका छौं । र, अबको दिनमा डिजीटलाइजेसनको विङ नै खडा गरेर जान्छौ । 

तपाईहरु नेतृत्वमा आएपछि राम्रो गरिरहेको छ बैंकले । अधिकांश सूचकमा सुधार भएको देखिन्छ । भोलिका दिनमा लगानीकर्ताले गर्नसक्ने आशा चाहिँ के हो ?
-हामी कान्छो बैंक हो, हाम्रो क्यापिटल एडेक्वेसी १४ प्रतिशत छ । भनेको हामीले एम्पल्ली ग्रो गर्नसक्ने ठाउँ छ । मार्केट टाइट भएको अवस्थामा लिक्वीडिटीलाई मेन्टेन मात्र गरेर गइरहेको अवस्था थियो । अब फेबरेबल अवस्था आउँछ भने हाम्रो विजिनेश ग्रोथ राम्रै हुन्छ जस्तो लाग्छ । जति कमाउनुपर्ने हो, त्यति नकमाएकै हो । केही समय चाहिन्छ, पर्टिकुलर विजिनेश फ्लोरिस हुनलाई । बाहिरको ब्राञ्च पनि खोल्दै गइरहेका छौं, भर्खरै आएको बैंकले ११३ वटा शाखा सञ्चालन गर्ने भनेको ठूलै हिम्मत लिएर अगाडि बढेको हो । शाखाहरुलाई ती ठाउँमा लोकलाइज हुन केही समय लागेको मात्र हो । त्यसकारण अबको दिनमा चाहिँ लाभांश क्षमता पनि बढ्छ । नेपाल राष्ट्रबैंकको प्यारामिटरभित्र बसेर राम्रै लेभलको प्रोफिट्याबिलिटी आउँछ । जस्तो असारको क्लोजरले पनि त्यही इण्डीकेसन गरिसकेको छ । हामीले टू डिजीटसम्मको रिटर्न दिने अवस्था बन्दैछ । 

अन्तमा, कोभिडले सिर्जना गरेको अन्य अवसर र चुनौति के के हो ?
-डिजीटलाइजेसनमै पनि फ्रड केसहरु बढेका छन् । टेक्नोलोजी इन्हान्समेन्टमा ठूलो खर्च गरेर जानुपर्छ । फ्रड रोक्न कन्ट्रोल मेकानिजम समेत डेभलप गरेर अगाडि बढ्नुपर्छ । बैंकभित्र र बाहिर नै यो मेकानिजम चाहिन्छ । अर्को भनेको पोस्टकोभिडमा डिफल्टको अनुपात बढ्नसक्ने अवस्था देखिन्छ ।